‘मोन्था’ आँधीको प्रभाव कमजोर, मौसममा सुधार

‘मोन्था’ आँधीको प्रभाव कमजोर, मौसममा सुधार

काठमाडौं : बङ्गालको खाडीमा विकसित ‘मोन्था’ आँधीको प्रभाव नेपालमा कमजोर बन्दै गएको छ, जसकारण देशभरको मौसममा क्रमशः सुधार आइरहेको छ।

यद्यपि, यसको आंशिक प्रभावका कारण अझै पनि केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, आँधीको प्रभाव कमजोर भए पनि पश्चिमी वायु र अरब सागरको न्यून चापीय प्रणालीसँगको अन्तरक्रियाले पहाडी भू-भागमा बदली कायमै छ।

यही कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। देशका अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा मधेश प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहनेछ।

कात्तिक १६, २०८२ आइतबार ०७:२०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।