एकताको तयारीसँगै माओवादी र एकीकृत समाजवादीमा भाँडभैलो, झलनाथपछि जनार्दनको 'विद्रोह'
काठमाडौं : जेन-जी आन्दोलनसँगै पुराना दलमा सङ्कट बढेपछि दलहरू एकीकृत हुने रणनीतिमा लागेका छन्। मुख्यतः : माओवादी केन्द्र र एकीकृत समाजवादीबीच अगाडि बढेको एकीकरण अभियानले दुवै दलमा विवाद बढाएको छ।
पार्टीको नेतृत्व पार्टी एकीकरणको पक्षमा छन्। तर पार्टी भित्रको प्रतिस्पर्धी नेताहरू एकीकरणको विपक्षमा उभिएपछि सङ्कट बढेको छ।
पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेसँगै एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ दल खोल्ने तर माओवादीसँग एकतामा नजाने घोषणा गरिसकेका छन्। उनीसँग रामकुमारी झाँक्री पनि मिसिएकी छिन्।
एकीकृत समाजवादीमा माओवादीसँगको एकताबारे विवाद भएपछि उता एमाले अध्यक्ष केपी ओलीले आफ्नै घर फर्कन आव्हान गरिसकेका छन्। झलनाथले प्रतिक्रियामा जनताको बहुदलीय जनवाद छाड्ने भए एमालेमा फर्कन सक्ने बताइसकेका छन्।
यता माओवादी केन्द्रमा पनि जनार्दन शर्माले एकताका विरुद्ध पार्टीभित्र आवाज उठाएका छन्। शनिवार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा उनले एकता तत्काल रोक्न औपचारिक प्रस्ताव पेस गरे।
शर्माले बैठकमा पार्टीको समग्र पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न गम्भीरतापूर्वक आह्वान गरे। उनले वैचारिक स्पष्टता नभई सङ्गठनात्मक तयारी नगरी गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुने र यसले वाम आन्दोलनलाई बलियो नबनाई क्रान्तिकारी धार कमजोर पार्ने र दक्षिणपन्थी अवसरवादलाई बल पुर्याउने तर्क गरे।
उनले हतारमा गरिएको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्ने तर आम कम्युनिस्ट आन्दोलनका लागि हानिकारक हुने तर्क गरे।
जनार्दनले पार्टी बैठकमा आफ्नो कुरा राखेर हिँडेका थिए। त्यसपछि पार्टी महाधिवेशन मूल आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता प्रक्रिया ठिक ढंगले अघि बढिरहेको र जनार्दन शर्मासमेत केन्द्रीय समितिको बैठकसम्म सहमत भएर अघि बढ्ने दाबी गरे।
माओवादी अध्यक्ष प्रचण्ड र माधव नेपालबीच अन्य कम्युनिस्ट घटकसहित एकता गरेर पार्टी नाम नै अलग राख्ने सहमति भइसकेको छ। पार्टीको नाम भने जुरेको छैन। उनीहरूले नेकपा समाजवादी वा नेपाली कम्युनिस्ट पार्टीमध्ये एक राख्नेबारे छलफल चलाइरहेका छन्।
एकतामा डा बाबुराम भट्टराइबाट अलग भएको महेन्द्र राय यादव र नेत्र विक्रम चन्द समूहबाट विभाजित अर्को समूहसँग समेत एकताको तयारी भइरहेको छ।
कात्तिक १६, २०८२ आइतबार ००:५२:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।