लुम्बिनी पुग्यो एनपीएलको ट्रफी
बुटवल : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी आज रुपन्देही ल्याइएको छ। एनपीएल ट्रफी टुर अन्तर्गत शनिबार बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ट्रफी रुपन्देही आइपुगेको हो।
बिहान साढे ९ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौंबाट ल्याइएको ट्रफीलाई विमानस्थलमा भव्य समारोहबीच स्वागत गरिएको थियो। काठमाडौंबाट बाकसमा ल्याइएको ट्रफी एनपीएल सदस्य टिम लुम्बिनी लायन्सका मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले ग्रहण गरेका थिए।
विमानस्थलको आन्तरिक टर्मिनलमा ट्रफी ग्रहण गरे लगत्तै बाजागाजासहित स्वागत कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा लुम्बिनी लायन्सका सदस्य, रुपन्देही क्रिकेट संघका पदाधिकारी, क्रिकेट खेलाडी, प्रहरीको ब्यान्ड टोली, क्रिकेटप्रेमी तथा सर्वसाधारणको उत्साहजनक उपस्थिति रहेको थियो।
विमानस्थलबाट ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनी लगिएको थियो, जहाँ सर्वसाधारणका लागि ट्रफी सार्वजनिक गरिएको थियो। त्यसपछि ट्रफीलाई फर्काएर भैरहवास्थित सिद्धार्थ रंगशाला ल्याइयो।
ट्रफी ग्रहण गर्दै लुम्बिनी लायन्सका मालिक ईश्वर जीसीले यसपटक एनपीएल उपाधि लुम्बिनीले घर ल्याउने विश्वास व्यक्त गरे। सो अवसरमा लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले लुम्बिनीले एनपीएलको ट्रफी जिते ५ लाख १ हजार रुपैयाँको पुरस्कार प्रदेश सरकारका तर्फबाट प्रदान गर्ने घोषणा गरे।
यसपछि ट्रफीलाई रुपन्देहीको बेलहिया नाकासम्म लगिएको थियो, जहाँ स्थानीयवासीहरूले फूलमालासहित भव्य स्वागत गरे। त्यहाँबाट ट्रफी तिलोत्तमा नगरपालिकामा अवस्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला पुर्याइयो, जसलाई लुम्बिनी लायन्सको घरेलु मैदानका रूपमा चिनिन्छ।
ट्रफी टुर त्यसपछि बुटवल उपमहानगरपालिकाका पुरातात्त्विक र ऐतिहासिक स्थलहरू हुँदै अघि बढ्यो। अन्त्यमा रुपन्देही र पाल्पाको सिमानामा अवस्थित सिद्धबाबा धाममा ट्रफी पुर्याएर दिनभरको टुर सम्पन्न गरिएको थियो।
ट्रफी टुरमा वर्तमान र पूर्व क्रिकेट खेलाडी, रुपन्देही क्रिकेट संघका पदाधिकारी, स्थानीय प्रतिनिधि, खेलकुद प्रेमी तथा सर्वसाधारणको सक्रिय सहभागिता रहेको थियो।
लुम्बिनी लायन्सको स्वदेशमै भएको ट्रफी टुरले आगामी एनपीएल प्रतियोगिताप्रति उत्साह र आशा थपिएको स्थानीय क्रिकेट समुदायले बताएका छन्।
कात्तिक १५, २०८२ शनिबार १६:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।