विश्वकप लिग-२ : दीपेन्द्रको अर्धशतकमा अमेरिकाविरुद्ध नेपालको बलियो प्रदर्शन

विश्वकप लिग-२ : दीपेन्द्रको अर्धशतकमा अमेरिकाविरुद्ध नेपालको बलियो प्रदर्शन

एजेन्सी : आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतले बलियो स्कोरतर्फ अग्रसरता लिएको छ।

दुबईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै सम्मानजनक स्कोरतर्फ अघि बढेको छ।

मध्यक्रममा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्दै मात्र ४९ बलमा २ चौका र ३ छक्कासहित अविजित ६१ रन बनाएका छन्। उनको यो पारीले नेपाललाई अन्तिम ओभरहरूमा तीव्र गतिमा रन जोड्न मद्दत गरेको छ।

नेपालको सुरुवात भने राम्रो हुन सकेको थिएन र २ रनमै पहिलो विकेट गुमाएको थियो।

त्यसपछि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ८८ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको पारी सम्हाले। दुर्भाग्यवश, दुवै जना अर्धशतक बनाउनबाट चुके। कुशलले ४७ रन र भीमले ४३ रनको योगदान दिए।

मध्यक्रममा कप्तान रोहित पौडेल र दीपेन्द्रले पाँचौँ विकेटका लागि ७९ रनको महत्त्वपूर्ण साझेदारी गर्दै नेपालको पारी उकासे। रोहित ३६ रन बनाएर आउट भए।

अमेरिकाका लागि हरमित सिंहले उत्कृष्ट बलिङ गर्दै ३ महत्त्वपूर्ण विकेट लिएका छन्। त्यस्तै, सौरभ नेत्राभाल्कर र नोस्थुश केन्जिगेले एक-एक विकेट लिए।

यो समाचार तयार पार्दासम्म नेपालले ४० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको छ। क्रिजमा दीपेन्द्रसिंह ऐरीलाई गुलशन झाले साथ दिइरहेका छन्।

कात्तिक १५, २०८२ शनिबार १४:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।