बाबर आजमले तोडे रोहित शर्माको कीर्तिमान, बने टी-२० अन्तर्राष्ट्रियका सर्वाधिक रनकर्ता
एजेन्सी : पाकिस्तानका पूर्वकप्तान बाबर आजम टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन्। यो कीर्तिमानसँगै उनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान रोहित शर्मालाई पछि पारेका हुन्।
लाहोरमा भएको दोस्रो टी-२० खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गरेको छ। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले मात्र ११० रन बनाउन सक्यो।
जवाफमा पाकिस्तानले १३.१ ओभरमै एक विकेट गुमाएर लक्ष्य पूरा गर्यो। यो जितसँगै तीन खेलको टी-२० शृङ्खला १-१ को बराबरीमा पुगेको छ।
यस खेलमा बाबरलाई कीर्तिमान तोड्न मात्र ९ रन आवश्यक थियो। उनले ११ रन बनाएपछि टी-२० अन्तर्राष्ट्रियमा उनको कुल रन ४,२३४ पुगेको छ।
अब रोहित शर्मा (४,२३१ रन) दोस्रो स्थानमा र विराट कोहली (४,१८८ रन) तेस्रो स्थानमा छन्। रोहित र कोहली दुवैले सन् २०२४ को टी-२० विश्वकपपछि यस फर्म्याटबाट सन्न्यास लिइसकेका छन्।
पाकिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो, जुन सही साबित भयो। पाकिस्तानी बलरहरूले दक्षिण अफ्रिकालाई खुलेर खेल्न दिएनन्।
फहिम अशरफले सबैभन्दा बढी ४ विकेट लिए। सलमान मिर्जाले कसिलो बलिङ गर्दै मात्र १४ रन दिएर ३ विकेट हात पारे। नसिम शाहले २ र अबरार अहमदले १ विकेट लिए। दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक २५ रन बनाए।
१११ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा पाकिस्तानका ओपनर सईम अयुबले उत्कृष्ट ब्याटिङ गरे। उनले मात्र ३८ बलमा ६ चौका र ५ छक्काको मद्दतले अविजित ७१ रन बनाए। यो उनको टी-२० अन्तर्राष्ट्रिय करियरको पाँचौँ अर्धशतक हो।
कात्तिक १५, २०८२ शनिबार १३:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।