मैझारो : त्रिकोणात्मक प्रेममा न रोमान्स न विरह
स्लोमोसनका फिल्मको सबैभन्दा ठूलो चुनौती नै दर्शकलाई हलको कुर्सीमा टिकाइराख्नु हो। धैर्य गर्न सक्ने भनेको फिल्मको कथा सुरु भएको १५-२० मिनेटमै कनेक्ट गराउनु हो। जब फिल्मभर दर्शकै कनेक्ट हुन सक्दैनन् तब फिल्मको असफल यात्रा सुरु भइहाल्छ।
फिल्म ‘मैझारो’ को मुख्य समस्या नै यही हो। एकातिर निर्देशकले कथालाई निकै सुस्त रूपमा अगाडि बढाएका छन्। अर्कोतिर शैली फिचर फिल्म भन्दा टेलिसिरियलको फर्म्याट हाबी देखिन्छ।
फिल्म सुरु भएको पहिलो हाफ अघिसम्म पनि दर्शक कथामा भिज्नै सक्दैनन्। एकातिर कथा नयाँ हैन, अनि गति पनि अति सुस्तहुँदा निर्देशक विल्सन विक्रम राईले दर्शक रिझाउन सकेका छैनन्।
फिल्म २ घण्टा २० मिनेट लामो छ। पटकथा र संवाद माझ्न नसक्दा हलमा दर्शक फिल्म कतिखेर सकिएला भनेर छटपटाइरहेको देखियो।
अब कथासारतर्फ लागौँ
इलामको गोरु लडेडाँडा गाउँको नाम बदलेर चिया बगानका मालिक क्याप्टेन रणध्वज राणाकै नाममा राखिन्छ। त्यहाँ दाउरेको रूपमा परिचित छन् बलिहाङ अर्थात् धिरज मगर। सानैमा बुबा बितेपछि उनी बसेको जग्गा राणाले नै लिएका छन्। आमासँग बसेका उनीहरूको दैनिक जीविकोपार्जनको माध्यम दाउरा चिर्ने,बेच्ने र सुँगुर भाले(वीर)लगाउने हो।
क्याप्टेन राणाकी छोरी सीमा (मिरुना मगर) र बलिहाङ बच्चैदेखिका साथी हुन्। सीमा पढ्न काठमाडौं आएपछि उनीहरुबीचको मित्रता टुट्छ। सीमा बलिहाङलाई माया गर्छिन्। बलिहाङले पनि उनलाई माया गर्छन्। तर ठुला बडाको घर अनि आफ्नो बुबाको चिहान समेत क्याप्टेनले कब्जामा लिन खोजेपछि दुवै परिवारबीच द्वन्द्व चर्किन्छ। सीमा पटक पटक भेट्न खोज्छिन् तर बलिहाङ टाढिँदै जान्छन्।
यता सेवारो होटेलकी साहुनी दिया पुन पनि बलिहाङलाई मन पराउँछिन्। त्यही गाउँमा छन् भारतीय लाहुरे राइफल नम्बर २९३ यलम्बर (विल्सन विक्रम राई)। सीमा र बलिहाङको सम्बन्धमा उनको प्रवेश गराएर निर्देशकले फिल्ममा केही ट्विस्टको निर्माण गरेका छन्। पारिवारिक द्वन्द्वको चपेटामा परेको बलिहाङ र सीमाको प्रेम सफल हुन्छ या टुट्छ? फिल्मको कथाको मुख्य पक्ष यही नै हो।
सबल पक्ष
सिनेमाटोग्राफी फिल्मको बलियो पक्ष हो। फिल्मका दृश्यहरू निकै सुन्दर देखिएका छन्। पूर्वतिर नाचिने साकेला नाचले फिल्मको सुन्दरता बढाएको छ। जब प्रेम सम्बन्ध दुर्घटनामा पर्छ त्यसले व्यक्तिको जीवनमा कुन तहसम्म असर गर्छ भन्ने उपकथा माओत्से गुरुङको पात्रमार्फत देखाएका छन्।
त्रिकोणात्मक प्रेमको कथालाई जोड्नेक्रममा निर्देशकले इलामलाई पर्यटकीय नगरीको रूपमा परिचित गराउन निकै मिहेनत गरेका छन्।
फिल्मका केही संवाद निकै शक्तिशाली छन्। पात्रहरूको चरित्र निर्माणसँगै उनीहरूको अभिनय पनि बलियो देखिन्छ।
कमजोरी
पुरानै कथा भए पनि त्यसलाई माझ्न मिहेनत गर्ने हो भने दर्शकले नयाँ स्वादको अनुभव गर्न सक्छन्। यो फिल्मको कथा नयाँ हैन, तर निर्देशकले गतिलोसँग माझ्न नसक्दा दर्शकले नयाँपनको अनुभव गर्न सक्दैनन्।
त्रिकोणात्मक प्रेमको कथा पस्कँदा निर्देशकले रोचकता र कौतुहलता निर्माण गर्न सकेका छैनन्। मुख्य पात्र बलिहाङको चरित्र निर्माणमा धेरै नै कमजोरी देखिन्छ।
उनको चरित्रमा न प्रेममा पर्दाको रोमान्टिक भाव देखिन्छ न त विरह नै देखाउन सकेका छैनन्। उनको अभिनय सपाट छ। उनी कुन मुडमा छन् भन्ने संवादबाट बुझ्न बाध्य हुन्छन् दर्शक।
पूर्वको कथा बोकेका निर्देशकले त्यता बोल्दा प्रयोग हुने लवज 'हाओ'लाई मुख्य केन्द्रमा राखेका छन्। दृश्यहरू बलिया छन् तर त्यसले फिल्मको कथाको गतिलाई साथ दिएको छैन। पूर्वको सुन्दरतासम्बन्धी वृत्तचित्र भएको भए राम्रै प्रभाव पर्न सक्थ्यो।
फिल्ममा बलिहाङको मिता र दिया पुनबीचको मनमुटाब जुन तहको देखिन्छ त्यसलाई निर्देशकले ठुलै विषयको रूपमा प्रस्तुत गर्ने प्रयास गर्दा एक्जाजरेट गरेको देखिन्छ। जुन तहको सम्बन्ध देखाउन खोजेको हो मनमुटाबको विषय त्यति गम्भीर देखिन्न।
फिल्मको केन्द्रमा रहेका धिरज र मिरुनाको अभिनयले दर्शकको मन छुन्न। उनीहरू रोमान्टिक बन्दा दर्शकले त्यसको अनुभव गर्न सक्दैनन्। जब वियोगमा पुग्छन् त्यसको भाव दर्शकसम्म पुग्दैन।
फिल्ममा मुख्य पात्र भन्दा पनि सहायक पात्र बुद्धि तामाङ र रजनी गुरुङको अभिनयले चटनीको काम गरेको छ। सुस्त कथामा दिक्किएका दर्शकको हाँसो फुस्काउन दुवै सफल देखिन्छन्।
निर्देशकले फिल्मका गीतको चयनमा भने राम्रै मिहेनत गरेका छन्। नेपालको पूर्वी भागको कथा भन्न साकेला नचाएका छन्। ‘तिमीलाई के थाहा सानु’पनि राम्रै सुनिएको छ। अन्य मध्यमस्तरका छन्।
ब्याकग्राउण्ड म्युजिक ठिकठिकै छ। कथा अनुसारै बिजिएम पनि सुस्त छ। निर्देशकले कलाकार चल्तीकै चयन गरेका छन्। तर कलाकार छनौट अनुसार उनीहरूलाई अभिनय गराउन चुक्दा फिल्म सामान्य बनेको छ।
कात्तिक १५, २०८२ शनिबार १२:१६:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।