विश्वकप लिग-२ मा नेपालको कठिन परीक्षा, आज शीर्ष स्थानको अमेरिकासँग भिड्दै

विश्वकप लिग-२ मा नेपालको कठिन परीक्षा, आज शीर्ष स्थानको अमेरिकासँग भिड्दै

काठमाडौं : आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत आज नेपालले शीर्ष स्थानमा रहेको बलियो प्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ।

दुबईस्थित आईसीसीए मैदानमा हुने यो खेल नेपालका लागि अंक तालिकामा आफ्नो स्थिति सुधार गर्न निकै महत्त्वपूर्ण हुनेछ। नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने यो खेल लिग-२ शृङ्खलाको ८८औँ म्याच हो।

अंक तालिकामा दुई टोलीको स्थिति हेर्दा आजको खेल नेपालका लागि निकै चुनौतीपूर्ण देखिन्छ। हालसम्म २२ खेल खेलेको अमेरिका १६ जित र ६ हारसहित ३२ अंक जोडेर अंक तालिकाको पहिलो स्थानमा छ। उसको नेट रनरेट पनि +०.७९१ को उत्कृष्ट अवस्थामा छ।

अर्कोतर्फ, नेपाल १८ खेलमा जम्मा ५ जित र ११ हार व्यहोर्दै १२ अंकसहित तालिकाको सातौँ अर्थात् पुछारमा रहेको छ। नेपालको नेट रनरेट -०.३०८ रहेको छ, जसले टोलीको संघर्षलाई प्रस्ट्याउँछ।

पछिल्ला पाँच खेलको नतिजा हेर्दा पनि अमेरिकी टोली उत्कृष्ट लयमा देखिन्छ। अमेरिकाले आफ्ना पछिल्ला पाँचमध्ये चार खेलमा जित निकालेको छ। यता, नेपालको प्रदर्शन भने उतारचढावपूर्ण रहेको छ। पछिल्ला पाँच खेलमा नेपालले दुईमा जित र तीनमा हार व्यहोरेको छ।

आजको खेलमा जित निकाल्न सके नेपालको मनोबल उच्च हुनेछ भने अंक तालिकामा पनि सुधारको अवसर मिल्नेछ। तर, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको अमेरिकी टोलीलाई पराजित गर्न नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा असाधारण खेल प्रदर्शन गर्नुपर्नेछ।

कात्तिक १५, २०८२ शनिबार १०:००:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।