कांग्रेस महाधिवेशन विवाद: इतर समूहले अघि सार्‍यो पुस १६ को मिति, कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी

कांग्रेस महाधिवेशन विवाद: इतर समूहले अघि सार्‍यो पुस १६ को मिति, कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल जारी
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसमा आगामी फागुनमा हुने निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने दबाब बढिरहेका बेला संस्थापन इतर समूहले महाधिवेशनको मिति नै प्रस्ताव गरेको छ।

नेता डा. शेखर कोइराला पक्षले आगामी पुस १६ गते केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको छ।

महाधिवेशनको कार्यतालिकाबारे सहमति जुटाउन अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच छलफल चलिरहेको छ।

महामन्त्रीद्वय थापा र शर्माले फागुन २१ को निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन हुनुपर्ने अडान राखेका छन् भने कार्यवाहक सभापति खड्कासहित संस्थापन पक्ष निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा छ। यही विवादका कारण जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

कार्यतालिकामा सहमति नजुटेपछि महामन्त्री थापाले बिहीबारको केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका थिए।

यसैबीच, शुक्रबार बिहान नेता डा. शेखर कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको संस्थापन इतर समूहको बैठकले पुस १६ मा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन र आजै बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्न महामन्त्रीद्वयलाई जिम्मेवारी दिएको हो।

कोइराला निवासमा भएको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू थापा र शर्मा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेलगायतका नेताहरू सहभागी थिए।

बैठकको निर्णयअनुसार महामन्त्रीहरूले कार्यवाहक सभापति खड्कासँग छलफल गरिरहेका छन्।

तर, संस्थापन पक्षले भने फागुन २१ को चुनावअघि महाधिवेशन गर्न असम्भव रहेको बताउँदै वैशाखमा गर्नुपर्ने अडान राखेको छ। सहमति नभए केन्द्रीय समितिमा बहुमतका आधारमा निर्णय गर्ने संकेत कार्यवाहक सभापति खड्काले दिइसकेका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। कार्यवाहक सभापति र महामन्त्रीहरूबीचको छलफलको निष्कर्षले बैठकको एजेन्डा तय गर्नेछ।

कात्तिक १४, २०८२ शुक्रबार १२:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।