दीपावलीपछि दिल्लीको हावा ‘अति खराब’, तुवाँलोले शहर ढक्यो
एजेन्सी : दीपावलीको भोलिपल्ट मंगलबार बिहानैदेखि भारतको राजधानी दिल्ली र आसपासका क्षेत्र (एनसीआर) को हावा निकै प्रदूषित बनेको छ।
सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै दीपावलीको रातभर पटका पड्काइएपछि वायुको गुणस्तर ‘अति खराब’ श्रेणीमा पुगेको हो। आज बिहान राजधानीका धेरैजसो इलाका बाक्लो तुवाँलोले ढाकिएका थिए।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा छ। दीपावलीमा राति अबेरसम्म पटका पड्काइएको आवाज सुनिएको थियो।
भारतको सर्वोच्च अदालतले पटका पड्काउनका लागि समय निर्धारण गरेको थियो। अदालतले दीपावलीको दिन बिहान ७ देखि ८ बजेसम्म र राति ८ देखि १० बजेसम्म मात्र 'ग्रीन पटाका' पड्काउन अनुमति दिएको थियो।
कहाँ कति छ प्रदूषण?
मंगलबार बिहान ६ बजे दिल्लीको आनन्द विहारमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३४८ दर्ज गरिएको छ। सीपीसीबीका अनुसार ३०० देखि ४०० बीचको एक्यूआईलाई ‘अति खराब’ श्रेणीमा मानिन्छ।
यसैगरी, आईटीओमा ३४५, बुराडी क्रसिङमा ३९३, चाँदनी चोकमा ३४७ र लोधी रोडमा ३३४ एक्यूआई मापन गरिएको छ।
दिल्लीसँगै जोडिएका नोएडा र गुरुग्रामको हावाको गुणस्तर पनि ‘अति खराब’ श्रेणीमा रहेको छ। मंगलबार बिहान नोएडाको सेक्टर ६२ मा एक्यूआई ३०७ र गुरुग्रामको सेक्टर ५१ मा ३४६ दर्ज गरिएको छ।
कात्तिक ४, २०८२ मंगलबार ०८:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।