अमेरिकी दूतावासको दोभासेसँग गुहार माग्दै कृष्णबहादुरले लेखे ‘मेरो छोरा निर्दोष छ, पश्चिम र दक्षिणतिर कुरा गर्नुहोस्’

अमेरिकी दूतावासको दोभासेसँग गुहार माग्दै कृष्णबहादुरले लेखे ‘मेरो छोरा निर्दोष छ, पश्चिम र दक्षिणतिर कुरा गर्नुहोस्’

काठमाडौं : भेपमा लुकाएर सुन तस्करी गर्ने चिनिया समूहसँगको संलग्न रहेको आरोपमा माओवादी नेता कृष्णबहादुर महरा एक पटक हैन तीन पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा तानिए। तीन पटकको अनुसन्धान अनि दोस्रो पक्राउपछि सोमबार बल्ल उनी विरुद्ध अभियोग पत्र दर्ता भयो।

उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तेस्रो पटक गरेको अनुसन्धानपछि सोमबार अभियोग पत्र दर्ता भयो। भेपमार्फत भएको सुन तस्करीको पहिलो अनुसन्धानमा महरा र उनको छोरा राहुलसँग सामान्य बयान समेत भएको थिएन।

दोस्रो अनुसन्धानमा बाबु-छोरालाई नै पक्राउ गरेर अनुसन्धान गरिए पनि कृष्णबहादुर विरुद्ध प्रमाण फेला नपरेको भनेर प्रतिवादी बनाएन। सिआइबीले नै तेस्रो पटक गरेको अनुसन्धानमा भने उनी सुन तस्करीमा संगठित रूपमा संलग्न रहेको दाबी गरिएको छ।

अभियोग पत्रमा मुख्य रूपमा महराले छोराको र बुहारीको नाममा रहेको सिमसम्म प्रयोग गरेर सुन तस्करीमा संलग्न मुख्य चिनिया नागरिकसँग संवाद गर्ने गरेको, भन्सारमा भेप समातिएपछि छुटाउन भन्सार अधिकारीलाई फोन गरेर दबाब दिएको, पटक-पटक भेटघाट भएको खुले पनि सञ्चारमन्त्री भएको बेलामा एक पटक मात्र भेटेको भनेर झुट बोलेको जस्ता आधार लिइएको छ।

अभियोग पत्र अनुसार सिआइबीले महराविरुद्ध अनुसन्धान गर्दा मुख्य प्रमाण र आधारहरू सुन तस्करी सम्बन्धी जाँचबुझ गर्न गठित समितिको प्रतिवेदनका विवरणलाई समेत मुख्य आधार बनाएको देखिन्छ।

अभियोग पत्रमा महराले नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत एक नेपाली नागरिकलाई पठाएको सन्देशलाई समेत सुन तस्करीमा उनको संलग्नताको प्रमाणको रूपमा प्रस्तुत गरिएको छ।

दूतावासमा दोभासेको रूपमा काम गर्ने ती नेपालीलाई उनले ‘सुन तस्करीबारे सरकार र प्रहरीले कुनै प्रमाण फेला पारेका छैनन्। यो म र मेरो छोरामाथि गरिएको राजनीतिक बदला हो, केही दुष्ट तत्त्वहरू मार्फत। मैले यसबारेको वास्तविकता प्रेस विज्ञप्ति, सामाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत पहिल्यै सार्वजनिक गरिसकेको छु। कृपया भ्रममा नपर्नुहोस्... सरकार वा प्रहरीद्वारा सुन तस्करी भएको कुनै प्रमाण छैन। मेरो छोरा राहुल साँच्चिकै निर्दोष छ। तपाईँले कुरा त्यही ठाउँमा गर्नुहोस् जहाँ आवश्यक छ र जहाँ तपाईँलाई पहुँच छ- विशेष गरी पश्चिम र दक्षिणतिर’ भन्ने सन्देश पठाएका थिए।

महराले बयानमा गुप्तालाई सन्देश पठाएको स्वीकार गरेका छन्। आफ्नो छोरा राहुल पुर्पक्षका लागि कारागार चलान भएपछि छोरालाई छुटाउन सहयोग पाउने आसले सन्देश पठाएको दाबी गरेका छन्।

अभियोग पत्रमा  यो सन्देशलाई ‘सुनको अवैध पैठारीको आरोपबाट सफाइ पाउने आधार प्रमाण प्रस्तुतिबाट होइन कि बाह्य शक्तिको सहयोगबाट छुटकारा पाउने तर्फ विश्वस्त र प्रयत्नरत रहेको देखिएको दाबी गरिएको छ।

अभियोग पत्रमा समेटिएको महराको सन्देश।उनले बयानमा “चिनजानका मानिससँग भेटघाट हुँदा र फोनमा कुराकानी हुँदा मैले मेरो छोरा राहुल भन्ने रेशम महरा निर्दोष छ छुटाउन सहयोग गर्नु भन्ने कुरा गरेको हो। यस्तैमा अमेरिकी राजदूतावासमा दोभासेको काम गर्ने निज तपेस गुप्तासँग फोनमा कुराकानी हुँदा मेरो छोरा रेशम महरा निर्दोष छ भनेको सम्म हो भनेर स्वीकार गरेको उल्लेख गर्दै ‘आफ्नो निर्दोषिताको प्रमाण अदालतमा पेस गर्नुको साटो प्रतिवादीले बाह्य सहयोगबाट छुटकारा दिलाउन प्रयत्न गरेको देखिएको’ भनिएको छ।

२०७९ पुस १० मा फ्लाई दुबईको एफजेट०५८७ नम्बरको फ्लाइटबाट चिनियाँ नागरिक ली हानसोङले ल्याएको भेपमा भएको सुन भन्सारकै कर्मचारीहरूले निकालेर बिक्री गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो। सो घटना सार्वजनिक भएपछि भन्सार कार्यालयको पत्रको आधारमा प्रहरीले अनुसन्धान गर्दा ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुन ल्याइए खुलेपछि भन्सारका नासु रेवत खड्कासहितमाथि अनुसन्धान भएको थियो।

असोज २७, २०८२ सोमबार १८:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।