चुनावको तयारीमा लाग्यो रास्वपा, कात्तिक १५ भित्र उम्मेदवारी आव्हान गर्ने गरि बनायो कार्यदल

चुनावको तयारीमा लाग्यो रास्वपा, कात्तिक १५ भित्र उम्मेदवारी आव्हान गर्ने गरि बनायो कार्यदल
Filephoto

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी फागुन २१ मा प्रस्तावित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एकीकृत निर्वाचन खाकाअन्तर्गत उम्मेदवार छनोट विधि तयार गर्ने निर्णय गरेको छ।

आज सम्पन्न सचिवालय बैठकमा सातै प्रदेशका सभापति र केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गरिएको छ। जसको संयोजन सहमहामन्त्री विपिनकुमार आचार्यले गर्नेछन्। कार्यदललाई सुझाव संकलनका लागि सात दिनको समय तोकिएको छ र कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी पूरा गर्ने लक्ष्य राखिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए।

बैठकले वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने कार्यलाई एकरूप बनाउने निर्णय पनि गरेको छ। यसका लागि उच्च संवाद समितिको संयोजन पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले गर्नेछन्।

पार्टीले आफ्नो केन्द्रीय सल्लाहकार परिषद्को गठन प्रक्रिया पनि सुरु गर्ने निर्णय गरेको छ। परिषदमा मनोनयन हुने प्रमुख व्यक्तिहरूमा वरिष्ठ अधिवक्ता एवं राजनीतिज्ञ जगन्नाथ पौडेल (चितवन), सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ नमस्तेलाल भूमि (तनहुँ), समाजसेवी तथा उद्यमी शोभा जोशी बिजुक्छे (ललितपुर), जलस्रोत एवं सिंचाइ विज्ञ बुद्धिलाल विश्वकर्मा (सप्तरी), र पूर्व क्याम्पस प्रमुख जय किशोर लाल (महोत्तरी) रहेका छन्।

बैठकले पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी कार्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय पनि गरेको छ। बैठकको व्यवस्थापनको जिम्मेवारी केन्द्रीय सदस्य एवं पूर्व सांसद हरि ढकालको संयोजनमा व्यवस्थापन समितिलाई दिइएको छ।

त्यसैगरी, असोज तेस्रो साता आएको जल उत्पन्न विपद् प्रभावित क्षेत्रमा पार्टी पंक्तिबाट गरिएको उद्धार र राहतकार्यको प्रशंसनीय प्रयासको लागि पार्टीले धन्यवाद व्यक्त गरेको छ र आगामी दिनमा राहतकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ।

असोज २४, २०८२ शुक्रबार १७:१४:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।