‘दशैंमा फिल्म रिलिज गर्दैमा आफूलाई ठूलो निर्माता ठान्ने भ्रम त्याग्नुपर्छ’
पहिले दशैंमा फिल्म रिलिज गर्न निर्माताहरू डराउँथे। रिलिज गरे पनि उपत्यकाबाहिर मात्रै गर्थे। उपत्यकाभित्र त बाहिर चलेको दुई-तीन महिनापछि मात्र रिलिज हुन्थ्यो।
उपत्यकाभित्र र बाहिर एकै समयमा फिल्म कहिल्यै लाग्दैनथ्यो, किनभने दशैंमा उपत्यकामा बसोबास गर्ने मानिसहरू गाउँ फर्किसकेका हुन्छन्, यहाँ सुनसान हुन्छ, फिल्म नै चल्दैन भन्ने मानसिकता थियो।
हलमा फिल्म लगाउँदा पनि खासै चल्दैनथ्यो। त्यतिबेला दशैंमा फिल्म चलेको रेकर्ड पनि राम्रो थिएन। हिन्दी फिल्महरू चल्थे, तर नेपाली फिल्मलाई कसैले वास्ता गर्दैनथे।
पछि, मैले नै आफ्ना फिल्महरू दशैंमा लगाउन जोखिम उठाउन थालेँ। उपत्यकाभित्रका हलमा समेत दर्शक त राम्रै रहेछन् भन्ने थाहा पाएँ। ‘कसले चोर्यो मेरो मन’, ‘अन्दाज’, ‘काली’ लगायत थुप्रै फिल्मले उपत्यकामै राम्रो कमाइ गरे।
त्यसपछि त दशैं आयो कि ‘रेखा थापा’ नै भन्ने भयो। अरू कसैले त्यो समयमा फिल्म चलाउन आँट गर्दैनथे। दशैं भन्यो कि रेखाको फिल्म आउँछ भन्ने एउटा चलन नै बन्यो।
मेरो फिल्मसँग भिड्न एउटा मात्रै फिल्म आउँथ्यो, तर त्यो खासै चल्दैनथ्यो। मेरै फिल्ममा दर्शकको ओइरो लाग्थ्यो। लगभग एक्लै नै रिलिज हुन्थ्यो। मलाई तनाव भनेको दर्शकले फिल्म मन पराउँछन् कि पराउँदैनन् भन्ने मात्रै हुन्थ्यो।
दर्शकको मन जित्ने तनाव
त्यतिबेला मलाई दर्शकले फिल्म मन पराउँछन् कि पराउँदैनन् भन्ने मात्रै तनाव हुन्थ्यो। योबाहेक अरू कुनै तनाव हुँदैनथ्यो। निर्माताको हिसाबले चरम विन्दुको सफलता पाइन्थ्यो। त्यो समयमा म र मेरो टिमले दशैंमा उपत्यकामा पनि फिल्म चलाउनुपर्छ भनेर आँट नगरेको भए, सायद अहिले पनि अवस्था उस्तै हुन्थ्यो कि भन्ने लाग्छ।
एक पटक मेरो फिल्म ‘किस्मत’सँग हिन्दी फिल्म ‘ओम शान्ति ओम’ जुधेको थियो, तर त्यसले पनि खासै असर पारेन। ठूला हिन्दी फिल्महरू दशैं-तिहारमा रिलिज हुने भएकाले पनि होला, नेपाली निर्माताहरू जोखिम लिन चाहँदैनथे।
तर, मैले जोखिम लिएँ र सफल भएँ। त्यसपछि त दशैंमा फिल्म चलाउन होडबाजी नै शुरू भयो। जोखिम लिँदा कि त डुबिन्छ, कि त सफल भइन्छ। मैले सफलता नै पाएँ। तर, मेरो फिल्म ‘रामप्यारी’ भने दशैंमा रिलिज भएन, किनकि भूकम्प गएको थियो। त्यसपछि अन्य कमेडी फिल्महरू रिलिज हुन थाले।
फिल्म हलमा चल्दा रातभर निद्रा लाग्दैनथ्यो। अहिले जस्तो निर्देशक र निर्माताबीच झगडा हुने कुरा थिएन। मेरो प्रतिस्पर्धा म आफैँसँग हुन्थ्यो। दर्शकलाई फिल्म मन पर्छ कि पर्दैन भन्ने तनावले रातभर सुत्न सक्दिनथेँ।
फिल्म फूलपातीमा रिलिज हुन्थ्यो, अघिल्लो दिन रातभर जाग्राम बसिन्थ्यो। साथीभाइहरूलाई पनि भेला पारेर बस्थ्यौँ। यो चिन्ता लगानी उठ्छ कि उठ्दैन भन्ने होइन, दर्शकलाई फिल्म मन पर्छ कि पर्दैन भन्ने थियो।
दशैं नमनाएको दशक
दशैंमै फिल्म रिलिज हुँदा टीका लगाउने समय नै मिल्दैनथ्यो। मैले करिब दस वर्षसम्म दशैं नमनाएको अनुभव छ। हलमा फिल्म कस्तो चलिरहेको छ भनेर हेर्न जान्थेँ। उमेरले रमाइलो गर्ने समय थियो, तर मैले त्यो बेला रमाइलो गर्ने मौका पाइनँ। अहिले सम्झिँदा लाग्छ, त्यो मेरो हिम्मत थियो।
अहिलेको अवस्था भने अर्कै छ। निर्माताबीचको झगडा, एकअर्कालाई नजरअन्दाज गर्ने प्रवृत्ति र दादागिरीमा भर परेर फिल्म रिलिज हुने अवस्था देखिन्छ। दशैंमा फिल्म रिलिज गर्दा आफूलाई ठूलो निर्माता वा निर्देशक ठान्ने भ्रम छ, जुन त्याग्नुपर्छ। राम्रो कन्टेन्ट छ भने फिल्म जुनसुकै समयमा पनि चल्छ।
पहिले ठूला स्टारकै फिल्म आउँछ भन्ने हुन्थ्यो, अहिले त गन्जागोल छ। नेपालमा स्टार नै नभएको जस्तो देखिन्छ। जसको फिल्म जसँग जुधे पनि हुन्छ भन्ने स्थिति छ। नयाँ फिल्ममेकरहरू पनि सीधै दशैंमा रिलिज गर्ने घोषणा गर्छन्, यो मैले बुझ्न सकेको छैन।
दशैं जस्तो प्रतिष्ठित पर्वलाई हलुका रूपमा लिनु गलत हो। निर्माता, निर्देशक, कलाकार सबै मिलेर फिल्म बजारलाई विस्तार गर्नुपर्ने हो, तर अहिले त दशैं दादागिरीको पर्व जस्तो लाग्न थालेको छ। हामीले त फिल्म नचल्ने भनिएको समयमा पनि हलमा लगाएर चलाएका हौँ। अहिलेको यो झगडा र गालीगलौजले दर्शकलाई निराश बनाउँछ।
दशैंको जस्तो विजय उत्सव मनाउने बेला निर्माताहरूबीच गालीगलौज भइरहेको देख्दा लाज लाग्छ। यस्तो झगडाका बीच बनेको फिल्मलाई दर्शकले के मूल्यांकन गर्लान् भन्ने प्रश्न उठ्छ।
(भोला अधिकारीसँगको कुराकानीमा आधारित)
असोज १३, २०८२ सोमबार १६:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।