नाडाका प्रतिनिधि र उद्योग मन्त्री सिन्हाबीच अटोमोबाइल क्षेत्रका चुनौती र सम्भावित समाधानबारे छलफल
काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हासँग भेट गरी नेपालको अटोमोबाइल क्षेत्रमा देखिएका चुनौती र सम्भावित समाधानबारे विस्तृत छलफल गरेको छ। प्रतिनिधि मण्डलको नेतृत्व नाडाका अध्यक्ष करण चौधरीले गरेका थिए।
छलफलको क्रममा अध्यक्ष चौधरीले हालैको जेनजी आन्दोलनका क्रममा अटोमोबाइल उद्योगमा परेको क्षति, शोरुम तथा संरचनामा आगजनी र तोडफोड जस्ता समस्याहरू औँल्याए। यसले ग्राहक विश्वासमा असर पुगेको र उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष चुनौती थपिएको बताउँदै मन्त्रालयबाट नीतिगत तथा संस्थागत सहयोगको माग गरे।
त्यसैगरी, नेपालमा उत्पादित वस्तुहरूको गुणस्तर परीक्षण र प्रमाणिकरणका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग पर्याप्त परीक्षण उपकरणविहीन भएको जानकारी दिँदै, तत्कालै आधुनिक परीक्षण सुविधा स्थापना गर्न आग्रह गरिएको छ। अध्यक्ष चौधरीले नेपालमा रहेका लुब्रिकेन्ट र ब्याट्री उद्योगको संरक्षण, प्रवद्र्धन र गुणस्तरीय उत्पादनका लागि आवश्यक कदम चाल्नुपर्ने पनि जोड दिए।
बैठकमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय कार्यसमितिका सदस्यहरू र अन्य पदाधिकारीले नेपालमै उत्पादन भएका टायर, हेलमेट, लुब्रिकेन्ट र ब्याट्री उद्योगका समस्याहरू र गुणस्तर सुधारका सुझावहरू राखेका थिए। साथै, व्यावसायिक सवारीसाधन बजार सक्रिय बनाउन क्रसर उद्योग विस्तार, हेलमेटमा गुणस्तर चिन्ह अनिवार्य गर्ने र ब्याट्री रीसाइक्लिङ प्लान्ट स्थापना गर्नुपर्ने माग गरिएको थियो।
सरकारी पक्षबाट सचिव कृष्णप्रसाद राउतले गुणस्तर परीक्षण ल्याब छिट्टै स्थापना हुने तयारीमा रहेको जानकारी दिए। मन्त्री सिन्हाले पनि सरकार-व्यवसायी सहकार्यबिना उद्योगलाई सबल बनाउन नसकिने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै, नाडाका सुझावहरू छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए।
यस भेटघाटलाई सकारात्मक र फलदायी भन्दै, यसले नाडा तथा सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई आत्मबल दिएको र उद्योग, व्यापार र अर्थतन्त्र सबल बनाउने आशा बढाएको बताइएको छ।
असोज १०, २०८२ शुक्रबार १९:३८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।