जेनजी आन्दोलनमा सरकारी कार्यालय तोडफोड र लुटपाटको आरोपमा समातिए सामुदायिक प्रहरीका अध्यक्ष
काठमाडौं : दुई दिनको जेनजी पुस्ताको आन्दोलनकोक्रममा सरकारी कार्यालय तोडफोड र लुटपाटमा संलग्न देखिएकाहरू पक्राउ पर्न थालेका छन्। प्रहरीले आन्दोलनको आवरणमा आपराधिक गतिविधिमा संलग्न देखिएकाहरूलाई पक्राउ गर्न थालेको हो।
बाँके प्रहरीले सामुदायिक प्रहरी, जयसपुरका अध्यक्ष सालिकराम पाठक र दीपक टमाटालाई सरकारी कार्यालयमा तोडफोड र लुटपाट गरेको आरोपमा पक्राउ गर्यो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार पाठकलाई नेपालगन्जको जयसपुरस्थित घरबाट र टमाटालाई सुर्खेतबाट पक्राउ गरिएको हो। पाठक आगजनी र तोडफोडमा, टमाटा लुटपाटमा संलग्न रहेको बताए।
जिल्ला प्रशासन, जिल्ला प्रहरीलगायतका सरकारी कार्यालयले सरकारी कार्यालय तोडफोड गर्ने, आगजनी गर्ने, लुटपाट गर्नेहरूको तथ्य, प्रमाण, भिडियोलगायतका सामग्री उपलब्ध गराउन सूचना जारी गरिसकेको छ।
जेनजीको विरोध प्रदर्शनका क्रममा काठमाडौंको संसद भवन, सिंहदरबार, प्रधानमन्त्री निवास, मन्त्री निवास लगायत देशभरमा रहेका सरकारी कार्यालयमा आगजनी र लुटपाट भएको थियो। प्रहरीले लुटपाट र आगजनीमा संलग्नहरुबारे प्रमाण संकलन गरिरहेको छ।
सर्वसाधारणसँग भएका प्रमाणहरु उपलब्ध गराउन प्रहरीले सार्वजनिक गरेको इमेलमा ५० हजार बढी मेल आइसकेको छ।
असोज १, २०८२ बुधबार २२:१३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।