आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको नयाँ कार्यकक्ष

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको नयाँ कार्यकक्ष

काठमाडौं : जेनजी प्रदर्शनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ कार्यकक्ष तयारी हुँदैछ।

प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारकै पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा सर्न लागिएको हो। नेपाली सेना, सुरक्षाकर्मी र कर्मचारीहरूले आगजनीबाट जोगिएका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायत सामग्री सारेर नयाँ कार्यालय सजाउने काम सुरु गरेका छन्।

आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयका सामग्री नयाँ भवनतर्फ लैजाने काम भइरहेको छ। उपलब्ध फर्निचर र उपकरणकै व्यवस्थापन गरेर नयाँ कार्यकक्ष सञ्चालनयोग्य बनाउन प्रयास भइरहेको छ।

तर आगजनी भएको पाँच दिन बितिसक्दा पनि सिंहदरबारको मुख्य भवन पश्चिमतर्फ अझै धुवाँ उडिरहेको छ। जलेका सवारीसाधन, कागजपत्र र अन्य सामग्री मन्त्रालय परिसरमा छरपस्ट छन्।

यसैबीच, सबैभन्दा बढी क्षति पुगेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शनिबार बिदा भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा ठूलो संख्यामा कर्मचारी स्वयंसेवक रूपमा सरसफाइमा जुटेका छन्। भूमिगत पार्किङमा राखिएका सवारीसाधनसमेत जलेर नष्ट भएका छन्।

मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाका अनुसार बिहान ८ बजेदेखि कर्मचारीहरूले सरसफाइ सुरु गरेका छन्। “पहिले सरसफाइ गर्छौं, त्यसपछि मर्मतसम्भारमा लाग्छौं,” उनले भने। उनका अनुसार क्षतिको पूर्ण विवरण निकाल्न सकिएको छैन, त्यसका लागि छुट्टै टोली गठन गरिएको छ।

“गाडी, कम्प्युटर, फर्निचर, टेलिभिजनलगायत धेरै सामान जलेका छन्,” सापकोटाले बताए। संरचनागत क्षति नभएका स्थानलाई पूर्ववत् अवस्थामा ल्याउन यसले सहयोग पुग्ने उनको विश्वास छ।

भदौ २८, २०८२ शनिबार १६:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।