म्यानमारको राखाइनमा हवाई आक्रमण, १९ विद्यार्थीको मृत्यु
काठमाडौं : म्यानमारको पश्चिमी राज्य राखाइनमा भएको हवाई आक्रमणमा परी कम्तीमा १९ जना विद्यार्थीको मृत्यु भएको छ। सशस्त्र समूह अराकान आर्मी (एए) का अनुसार यो आक्रमण क्याउक्ताव नगरपालिकास्थित दुई निजी विद्यालयमा भएको हो।
एएले जारी गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछि भएको हो। मृत्यु हुनेहरू १५ देखि २१ वर्षका विद्यार्थी रहेको र थप २२ जना घाइते भएको उल्लेख छ। एएले आक्रमणको जिम्मेवारी म्यानमारको सैनिक सरकारलाई तोकेको छ।
स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले जनाएअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका विस्फोटक विद्यालय भवनमाथि खसालेको थियो, जसबेला विद्यार्थीहरू निद्रामा थिए।
“निर्दोष विद्यार्थीहरूको असमय निधनले हामीलाई पीडित परिवारसरह अत्यन्त दुःखी बनाएको छ,” एएको विज्ञप्तिमा भनिएको छ।
युनिसेफले पनि वक्तव्य जारी गर्दै यस घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ। “यो आक्रमण राखाइन राज्यमा पछिल्ला हिंसात्मक घटनाहरूको भयावह उदाहरण हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारहरूले चुकाइरहेका छन्,” वक्तव्यमा उल्लेख छ।
सञ्चार संस्था एएफपी का अनुसार घटनास्थल वरिपरि इन्टरनेट र फोन सेवा अत्यन्त कमजोर भएकाले प्रत्यक्ष विवरण संकलन गर्न कठिन भएको छ।
सन् २०२१ मा प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि म्यानमारमा प्रतिरोध तीव्र बनेको छ। यसबीच सैनिक सरकारमाथि सर्वसाधारण क्षेत्र लक्षित हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोप लगातार लाग्दै आएका छन्।
भदौ २८, २०८२ शनिबार १४:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।