‘...तपाईं सफल हुनुस्, देश सफल होस्, जनता बचुन्’

‘...तपाईं सफल हुनुस्, देश सफल होस्, जनता बचुन्’

काठमाडौं : गएराति राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त गरे। 

भदौ २३ र २४ गते भएको 'जेनजी' युवाहरूको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै कार्की प्रधानमन्त्री बनिन्। नवनियुक्त प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराउनु हो।

सोही अनुसार उनले फागुन २१ गतेका लागि निर्वाचन घोषणा समेत गरिसकिन्। राष्ट्रपति पौडेलले नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पेको संवैधानिक अधिकार प्रयोग गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरे भने संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिइन्।

शपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै भने- ‘धेरै धेरै बधाई छ। शुभकामना! तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचुन्।’

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सुमना श्रेष्ठ लगायत उपस्थिति थिए।

यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति, अन्य सुरक्षा निकायका प्रमुखहरू, अमेरिका, चीन, भारत लगायतका देशका राजदूतहरू र आन्दोलनरत जेनजी युवाका प्रतिनिधिहरूको पनि सहभागिता थियो।

भदौ २८, २०८२ शनिबार ०८:०१:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।