चितवन कारागार तोडेर भागेका कैदीबन्दीमध्ये ५४ जना फर्किए

चितवन कारागार तोडेर भागेका कैदीबन्दीमध्ये ५४ जना फर्किए

भरतपुर : चितवनको भरतपुरस्थित कारागारमा बुधबार आगजनी र तोडफोड गरी भागेका कैदीबन्दीहरू फर्कन थालेका छन्।

बुधबार कारागारबाट भागेका ७४० कैदीबन्दीमध्ये बिहीबारसम्म ५४ जना सम्पर्कमा आएर फर्किएको कारागार प्रशासनले जनाएको छ।

जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार, बुधबार बिहान कैदीबन्दीहरूले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा तोडेर बाहिर निस्किएका थिए।

उनीहरूले कारागारको मूल गेटमा आगो लगाउनुका साथै व्यापक तोडफोड गरेपछि सुरक्षाकर्मी उनीहरूलाई रोक्न असमर्थ भएका थिए ।

‘बुधबारको माहोल निकै तनावपूर्ण थियो, तर अहिले उनीहरूलाई फोनमार्फत सम्पर्क गरेपछि फर्किने क्रम सुरु भएको छ,’ प्रमुख ढुङ्गानाले भने, ‘सरकारले भागेकाहरूलाई जसरी पनि समात्छ भन्ने लागेर पनि उनीहरू फर्किएको हुन सक्छ।’

५५० जनाको क्षमता रहेको चितवन कारागारमा घटनाको समयमा ४६ महिलासहित ७४० कैदीबन्दी थिए, जसले कारागारको भीडभाडको अवस्थालाई पनि देखाउँछ। प्रशासनले बाँकी कैदीबन्दीको खोजी जारी राखेको छ।

भदौ २७, २०८२ शुक्रबार ०७:३९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।