सडकबाट खोजी शुरु भएपछि राष्ट्रपति पौडेलले तोडे मौनता, भने- ‘संवैधानिक निकास खोज्दैछु, संयम अपनाउनुस्’

सडकबाट खोजी शुरु भएपछि राष्ट्रपति पौडेलले तोडे मौनता, भने- ‘संवैधानिक निकास खोज्दैछु, संयम अपनाउनुस्’

काठमाडौं : सामाजिक सञ्जाल र सडकमा हाम्रो राष्ट्रपति खै भनेर खोजी शुरु भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मौनता तोड्दै विज्ञप्तीमार्फत संवैधानिक दायराभित्र रहेर निकास खोज्न आफू प्रयासरत रहेको बताउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्।

जेन-जी आन्दोलन, सरकारको पतन र अन्तरिम सरकार गठनबारे सेना प्रमुखको नेतृत्वमा राजनीतिक छलफल भएपछि राष्ट्रपतिको भुमिकाको खोजी भइरहेको छ। उनले बिहीबार आफ्नो अपिलमा ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु’ भनेका छन्।

उनले आन्दोलनरत नागरिकहरूको मागलाई सम्बोधन गर्न र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आफू लागिपरेको कुरामा विश्वस्त हुन पनि आग्रह गरेका छन्।

राष्ट्रपतिले सबै पक्षलाई संयमतापूर्वक शान्ति-सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न अपिल गर्दै देशलाई संकटबाट मुक्त गराउने प्रयासमा साथ दिन आग्रह गरेका छन्।

भदौ २६, २०८२ बिहीबार १५:२९:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।