आन्दोलनका क्रममा बालाजुको अष्टनारायण हलमा तोडफोड, मोबाइल पनि लुटियो
काठमाडौं : जेन-जी आन्दोलनका क्रममा काठमाडौंको बालाजुस्थित अष्टनारायण हलमा तोडफोड भएको छ।
करिब १५ जनाको संख्यामा आएको एक समूहले हलको बाहिरी भागका सिसा फुटाउनुका साथै भित्र प्रवेश गरी एक थान मोबाइल समेत लुटेर लगेको छ।
हलका सञ्चालक तथा अभिनेता सोहित मानन्धरका अनुसार, समूहले हलका अधिकांश सिसा फुटाएको छ। क्षतिको यकिन विवरण भने आइनसकेको उनले बताए।
उकेरासँग कुरा गर्दै उनले भने, ‘१४-१५ जनाको समूहमा आएकाहरूले हलको सबै सिसा फुटाइदिए। पोस्टरले छेकेको भाग मात्र बचेको छ। उनीहरू भित्र पसेर होहल्ला गर्नुका साथै एउटा मोबाइल पनि लगे।’
यसैबीच, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले देशव्यापी आन्दोलनका कारण सबै हल बन्द रहेको र कहाँ-कति क्षति भयो भन्नेबारे विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिए।
उनले भने, ‘अहिले सबै हल बन्द छन्। कहाँ के-कति क्षति भयो, त्यसको जानकारी लिने काम भइरहेको छ। केही दिनमा यसबारे विस्तृत जानकारी गराउँछु।’
उल्लेखनीय छ, जेन-जी आन्दोलनका क्रममा प्रदर्शनमा सहभागी अराजक समूहहरूले विभिन्न स्थानमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेका छन्।
भदौ २६, २०८२ बिहीबार १५:१२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।