जेन-जीको पत्रकार सम्मेलन- ‘अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई, संविधान खारेज हैन संशोधन गर्ने हो’
काठमाडौं : देशमा जारी राजनीतिक संकटको निकासका लागि आन्दोलनरत ‘जेन-जी’ पुस्ताका प्रतिनिधिहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न औपचारिक प्रस्ताव गरेका छन्।
बिहीबार काठमाडौंको रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आफूहरू सरकारमा नजाने तर ‘वाचडग’ को भूमिकामा रहेर खबरदारी गर्ने स्पष्ट पारेका छन्।
देशव्यापी हिंसात्मक प्रदर्शन र पूर्ववर्ती सरकारको पतनपछि निकासका लागि भइरहेको प्रयासका बीच जेन-जीले पहिलोपटक औपचारिक रूपमा आफ्नो ५ बुँदे धारणा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा जेन-जीले राखेका मुख्य ५ धारणा:
१. अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीले गर्ने: आन्दोलनको तर्फबाट अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको उनीहरूले घोषणा गरे।
२. संसद् विघटन गर्ने, संविधान संशोधन गर्ने: उनीहरूले हालको संसद् विघटन गर्नुपर्ने तर संविधान खारेज नभई आवश्यक संशोधन मात्र गरिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले भने, ‘हामी संविधान खारेजीको पक्षमा छैनौं, तर जनताको भावना अनुसार यसलाई संशोधन गर्नुपर्छ।’
३. सरकारमा नबस्ने, ‘वाचडग’ बन्ने: आफूहरू सत्ताको भागबण्डामा नलाग्ने र सरकारमा समेत सहभागी नहुने उनीहरूले स्पष्ट पारे। ‘हामी सरकारमा बस्दैनौं, वाचडगको भूमिकामा हुन्छौँ,’ एक प्रतिनिधिले भने, ‘अन्तरिम सरकारले सही काम गरे नगरेको हामी निगरानी गर्नेछौं।’
४. राजनीतिक दलहरूलाई चेतावनी: उनीहरूले स्थापित राजनीतिक दलहरूलाई आफ्नो आन्दोलनमाथि खेल्न वा आफ्नो स्वार्थका लागि प्रयोग गर्न नखोज्न चेतावनी दिएका छन्। ‘कुनै पनि पार्टीले हामीमाथि खेल्न नखोजे हुन्छ, यो नितान्त नागरिक आन्दोलन हो’, उनीहरूले भने।
५. संयमित हुन आग्रह: पत्रकार सम्मेलनमा उनीहरूले अब सबै पक्ष संयमित भएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए। हिंसा र अराजकताबाट नभई शान्तिपूर्ण संवाद र सहकार्यबाटै देशलाई निकास दिनुपर्ने उनीहरूको धारणा थियो।
भदौ २६, २०८२ बिहीबार १४:५८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।