होटल, सपिङ मलदेखि एनसेल टावरसम्म प्रदर्शनकारीले छाडेनन्, चौधरीदेखि गोल्छासम्मका घरमा आगजनी र लुटपाट

होटल, सपिङ मलदेखि एनसेल टावरसम्म प्रदर्शनकारीले छाडेनन्, चौधरीदेखि गोल्छासम्मका घरमा आगजनी र लुटपाट
तस्बिरहरू- दीपेश श्रेष्ठ र सामाजिक सञ्जालबाट।

काठमाडौं : सुशासनको मागसहित सोमबारबाट सुरु भएको युवा पुस्ताको आन्दोलन मंगलबार तोडफोड र आगजनीमा उत्रिँदा त्यसको मारमा सार्वजनिक सम्पत्ति मात्र परेन, निजी सम्पत्ति पनि पर्यो। प्रदर्शनमा सहभागी एक समूह नियोजित रूपमा तोडफोड र आगजनीमा केन्द्रित हुँदा त्यसको तारोमा निजी व्यवसायीहरू समेत परे।

उनीहरूले सोरुम, सुपरमार्केट, उद्योग, होटल, सञ्चारमाध्यम, वायुसेवा कम्पनी, घर सबैतिर आक्रमण र आगजनी गरे। सडकमै रहेका अधिकांश सवारी साधनका सोरुमहरू प्रदर्शनकारीको आक्रोशको निशानामा परे। केही व्यवसायीहरू नियोजित आक्रमणको निशानामा परे।

त्यसैमा पर्यो भाटभटेनी। भाटभटेनी सुपरमार्केटका देशभरका २७ वटा आउटलेट र एउटा स्टोर गरेर २८ वटामध्ये २१ वटा आक्रमणमा परे। अधिकांशमा पहिला लुटपाट गरेर पछि आगो लगाइयो।

चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केट।

अर्का उद्योगी तथा प्रतिनिधि सभाका सदस्य विनोद चौधरीको सतुंगलमा रहेको सीजीको डिजिटल पार्कमा आगो लगाइयो। प्रदर्शनकारीहरूले रविभवनस्थित चौधरीको निजी घर समेत ध्वस्त बनाए।

थापाथलीमा रहेको सिजीको गाडीको सोरुम, रविभवनमा रहेको सीजी सोरुममा समेत आगो लगाइदिए। थापाथलीमा रहेको टाटा मोटर्सलगायत अधिकांश ब्रान्डका सोरुममा तोडफोड र आगजनी गरियो। नर्भिक अस्पतालका प्रमुख वसन्त चौधरीको ठमेलमा रहेको घर समेत तोडफोडमा पर्यो।

थापाथलीस्थित टाटा मोटर्सको शोरुम।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजु राणाका छोराको लगानी रहेको भन्दै नक्सालमा रहेको हिल्टन होटलमा आगो लगाएर पूरै ध्वस्त बनाए। उनीहरूले शेखर गोल्छाको सितापाइलामा रहेको घरमा तोडफोड गरेर आगो लगाइदिए।

नक्सालस्थित हिल्टन होटल।

कांग्रेस सांसद राजेन्द्र बजगाईंको बालुवाटारमा रहेको वर्णवास होटल, टुसालमा रहेको होटल हायात पनि प्रदर्शनकारीको निशानामा परे।

तीनकुनेमा रहेको सिम्रिक एयरको भवनमा प्रदर्शनकारीले आगो लगाइदिए। अन्नपूर्ण पोस्टको कार्यालय अन्नपूर्ण कर्पोरेट टावर, कान्तिपुर मिडिया ग्रुप रहेको थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा पनि तोडफोड र आगलागी भयो। त्यही टावरमा ग्लोबल आईएमई बैंकको शाखा समेत थियो। त्यसमा समेत क्षति पुगेको छ।

थापाथलीस्थित कान्तिपुर पब्लिकेशन।

चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको बटम स्टेसनमा समेत प्रदर्शनकारीले आगो लगाइदिएका छन्। आगो लागेर दुवै ठाउँ ध्वस्त भएको छ।

चन्द्रागिरी नगरपालिकामा रहेको चन्द्रागिरी हिल्सको बटम स्टेशन।

पुरानो बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई पनि प्रदर्शनकारीहरूले छाडेनन्। यस्तै, कामचलाउ सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवाको लगानी रहेको भनिएको युलेन्स स्कुलसहित अन्य शैक्षिक संस्था समेत आक्रमणकारीको निशानामा परे।

आन्दोलनसँग कुनै सरोकारै नभए पनि प्रदर्शनकारीहरूले एनसेलको प्रधान कार्यालयमा आगजनी गरेर ध्वस्त बनाए। टावर जलाउन गएको समूहले तल पार्किङमा राखिएका गाडीहरू आफैँ चलाएर माथि ल्याउँदै आगोमा झोसेका थिए। आगलागीबाट टावरमा पूरै क्षति पुगेको छ।

लैनचौरमा रहेको एनसेल टावर।

संसद भवनसँगै रहेको राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखामा समेत तोडफोड र लुटपाट भएको थियो। मंगलबार बेलुका १० बजेबाट सेनाले सुरक्षाको कमान्ड सम्हाल्दा लुटपाटका घटना रोकिएका थिए। सेनाले बेलुका विभिन्न स्थानमा लुटपाटका लागि हतियारसहित हिँडेका समूहलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो।

भदौ २६, २०८२ बिहीबार ०८:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।