कैदीले कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि सर्लाहीमा निषेधाज्ञा

कैदीले कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि सर्लाहीमा निषेधाज्ञा
Filephoto

सर्लाही : जिल्ला कारागार सर्लाहीमा कैदीबन्दीले भाग्ने प्रयाससँगै आगजनी गरेका कारण जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ।

आज बिहान कैदीबन्दीले कारागारको माथिल्लो तलामा आगो लगाउँदै कारागार तोडेर भाग्ने प्रयास गरेका थिए। स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरी चारैतिरबाट कारागार घेराबन्दी गरिएको कारागार प्रमुख विशाल चौधरीले जानकारी दिए।

उनका अनुसार बिहान केही समय तनावग्रस्त बनेको अवस्था अहिले नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ। कैदीहरूले लगाएको आगो बारुणयन्त्रमार्फत निभाउने काम भइरहेको छ।

२१० जना क्षमता भएको सो कारागारमा हाल ३९८ जना कैदीबन्दी रहेका छन्। भीडभाडका कारण पनि सुरक्षामा चुनौती बढेको अधिकारीहरूको भनाइ छ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नआएसम्मका लागि बिहान ८ः३० बजेदेखि सर्लाही जिल्लाभर निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार पालिका कार्यालयमा तोडफोड र आगजनी भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।

जारी आदेशअनुसार पूर्वमा महोत्तरी, पश्चिममा रौतहट, उत्तरमा सिन्धुली र दक्षिणमा भारतको सीमा सम्मको क्षेत्रभित्र सभा, जुलुस, भेला वा कुनै किसिमको गतिविधि पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यस अवधिमा सेना र सुरक्षाकर्मी उच्च सतर्कतासहित परिचालन गरिएको छ।

निषेधाज्ञा अवधिमा भने एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका सवारीसाधन सञ्चालनमा सहजीकरण गरिने प्रशासनले जनाएको छ।

भदौ २५, २०८२ बुधबार १५:५२:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।