सेनाको कारबाही तीव्र : भाटभटेनी लुट्ने ४ जनासहित थप २६ कैदी पक्राउ, लाखौं नगद र हतियार बरामद
काठमाडौं : नेपाली सेनाले देशव्यापी सुरक्षा कारबाहीलाई तीव्रता दिँदै बुधबार दिउँसोसम्ममा काठमाडौंमा लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ भने डडेलधुराबाट भागेका २६ कैदीलाई पुनः नियन्त्रणमा लिएको छ।
यसै अवधिमा सुरक्षाकर्मीले ठूलो परिमाणमा नगद र थप हतियारसमेत बरामद गरेको छ।
सेनाले जारी गरेको पछिल्लो सुरक्षा अपडेटअनुसार, बिहान १० बजेदेखि दिउँसो १ बजेको अवधिमा महाराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरिएको हो।
त्यसैगरी, डिल्लीबजार-नारायणथान क्षेत्रमा शंकास्पद व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपछि छाडेर भागेको अवस्थामा २ लाख ३२ हजार ५ सय नेपाली रुपैयाँ र २,५०० अमेरिकी डलर बरामद भएको छ।
सुरक्षाकर्मीबाट लुटिएका हतियारहरू बरामद गर्ने क्रममा थप १ नाल हतियार फेला परेको छ। योसँगै हालसम्म बरामद भएका कुल हतियारको संख्या ३२ नाल पुगेको सेनाले जनाएको छ।
यसैबीच, सुरक्षा कारबाहीकै क्रममा डडेलधुरा जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये २६ जनालाई नियन्त्रणमा लिन सफल भएको छ।
यसअघि काठमाडौंको डिल्लीबजारस्थित सदर कारागारबाट भाग्न खोज्ने कैदीहरूको प्रयासलाई पनि सुरक्षाकर्मीले असफल पारेको थियो।
भदौ २५, २०८२ बुधबार १३:४१:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।