३२ लाख घुस प्रकरणमा जोडिएका मन्त्री अधिकारीलाई पदमुक्त गरेर छानबिन गर्नुपर्ने एमाले कास्कीको निर्णय
पोखरा : एक सय ३५ रोपनी जग्गा मिलाउन ३२ लाख घुस लिएको विवादमा परेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि छानबिन गरेर कारबाहीको दायरामा ल्याउनु पर्ने एमाले कास्कीले निर्णय गरेको छ। पोखरामा रहेको लिची बगैँचाको विवादमा मन्त्री अधिकारी छोरा र तत्कालीन सामान्य प्रशासन सचिवसहित जोडिएका थिए।
शनिवार बसेको जिल्लाको विस्तारित बैठकले सो प्रकरणमा बिचौलियाको रूपमा नाम जोडिएका पार्टीका गण्डकी सल्लाहकार परिषद् सदस्य सुजन लामाको सदस्यता नवीकरण नगरी सूची केन्द्रमा पठाएको छ। अधिकारी एमाले केन्द्रीय सदस्य समेत हुन्।
शनिवारको बैठकले घुस प्रकरणमा जोडिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिए पनि अधिकारी मन्त्री पदमै कायम रहेको भन्दै उनीमाथि छानबिन गर्नुपर्ने र उनी दोषी देखिए कारबाही गर्नुपर्ने औपचारिक निर्णय नै गरेको हो। पार्टी बैठकले अधिकारीलाई मन्त्री पदबाट मुक्त गर्नुपर्ने निर्णय समेत गरेको छ।
मन्त्री अधिकारी समेत पोखराको लिची बगैँचा प्रकरणको घुसमा जोडिएको अडियो पहिलो पटक उकेराले सार्वजनिक गरेको थियो।
अडियो सार्वजनिक भएपछि मन्त्री अधिकारीले बिचौलिया भनिएका श्रेष्ठसँग भेट भएको तर घुस नलिएको दाबी गर्दै आफू र आफ्नो परिवारको चरित्रहत्याको प्रयास भएको दाबी गरेका थिए।
साउन ३, २०८२ शनिबार २०:०४:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।