भ्रष्टाचारका काण्ड ओझेलमा पार्न राजावादीले देशमा अस्थिरता ल्याएको भ्रम छरियो : सांसद सिंह
                    
                    
                    
                    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले नयाँ नयाँ भ्रष्टाचार काण्डहरूले देश अस्तव्यस्त अवस्थामा गइरहेको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारको कथा बजारमा छर्लङ्ग आइराखेको बताए।
‘देश अस्तव्यस्त अवस्थामा छ। एक महिना हुन लागिसक्यो शिक्षक आन्दोलन, मिटरव्याजी आन्दोलन, सहकारी पीडित आन्दोलन, डाक्टरहरूको आन्दोलन र कर्मचारीहरूको पनि तयारी हुन गइराखेको छ,’उनले भने, ‘नयाँ नयाँ भ्रष्टाचार काण्ड आइराखेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पर्मलोडको कथा बजारमा छर्लङ आइराखेको छ।’
साथै, उनले भ्रष्टाचार काण्डहरू ओझेलमा पार्न यो सरकारले राजावादीहरूले देशमा अस्थिरता ल्याए भनेर आरोप लगाइरहेको बताए।
उनले भने, ‘भ्रष्टाचारका यी काण्डहरू ओझेलमा पार्नको लागि अब सरकारले राजावादीहरूले अस्थिरता ल्यायो देशमा भनेर यही सदनमा पनि यी राजावादीहरूलाई फोड्नुपर्छ, जेलमा हाल्नुपर्छ भन्ने अभिव्यक्ति आएको छ। हो हामी राजा चाहिन्छ यो देशमा भन्ने पार्टीका मान्छे हौं। यदि हामीबाट कुनै कमिकमजोरी भएको छ भने कारवाहीको सजाय भोग्न हामी तयार छौं। देशको उन्नती र प्रगति गर्न यी भ्रष्टाचारीहरूलाई छिनोफानो गर्नुपर्ने छ।’
वैशाख १५, २०८२ सोमबार १४:१५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।