एनपिएलको प्रायोजक कम्पनी वुल्फविरुद्ध अदालतमा मुद्दा, २४ करोडको जुवा खेलाएको अभियोगमा नौ जना प्रतिवादी

एनपिएलको प्रायोजक कम्पनी वुल्फविरुद्ध अदालतमा मुद्दा, २४ करोडको जुवा खेलाएको अभियोगमा नौ जना प्रतिवादी

काठमाडौँ : टीयू क्रिकेट मैदानमा भएको रहेको नेपाल प्रिमियर लिगको प्रायोजक वुल्फत्रिपलसेभेनले नेपालमा जुवा खेलाएको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको खुलेको छ। एनिपिएल आयोजक कमिटीले खेल खेलाउने साइट भन्दै वुल्फत्रिपल सेभेन वैध भएको दाबी गरिरहेका छन्।

टियू मैदानको मुख्य भागमा वुल्फत्रिपलसेभेनको सरोगेट नाम वुल्फत्रिपलसेभेनन्युजको विज्ञापन राखेर जुवा प्रवर्धन गरिरहेकोबारे उकेराले निरन्तर समाचार प्रकाशित गर्दै आएको छ। उकेराको समाचारको आधारमा प्रहरीले अनुसन्धान गर्दै पारस खड्काको संयोजकत्वमा रहेको एनपिएल आयोजक समितिले जुवाको प्रचार गरेको निष्कर्ष निकाल्दै प्रहरीले त्यसलाई रोक्न गृह मन्त्रालयमा पत्र पठाए पनि कारबाही भने भएको छैन।

शुक्रबारको खेलमा पनि क्यानले जुवा खेलाउने कम्पनीको प्रचार सामाग्री मैदानमा राखिरहेकै छ। तीन फ्रेन्चाइज टिमले अलग अलग जुवा खेलाउने कम्पनीको सरोगेट नामको प्रचार गरिरहेका छन्।

उकेराको खोजमा क्यानले जुन कम्पनीको सरोगेट नामको प्रचार गरिरहेको छ त्यो विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा नै दर्ता भएको र नौ जना प्रतिवादी बनेको फेला पारेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वुल्फत्रिपलसेभेनबारे अनुसन्धान गर्दै उनीहरूले नेपाली नागरिकको प्रयोग गर्दै २४ करोड बराबरको जुवा खेलाएको निष्कर्ष निकालेको देखिन्छ।

सिआइबीले २०८१ जेठ २३ गने वुल्फत्रिपलसेभेनको एजेन्ट बनेर जुवा खेलाउन संलग्न रहेको आरोपमा नितेश हरिजन, आकाश मिश्र, प्रतीक बस्याल, रामु गिरी, सजल श्रेष्ठ र अभिषेक जैसवाललाई पक्राउ गरेको थियो। अनुसन्धान सकिँदासम्म विजय जैसवाल, रविन प्रसाद कानु र दुर्गाराज श्रेष्ठ पक्राउ नपरेपछि उनीहरूलाई फरार प्रतिवादी बनाउँदै असार २५ मा अदालतमा मुद्दा दायर भएकोमा आरोपीहरू धरौटीमा मुक्त भएका थिए।

अभियोग पत्रमा एनिपिएलको मैदानमा रहेको वुल्फत्रिपलसेभेनन्युजको मुख्य कम्पनी वुल्फत्रिपलसभेनको नाम उल्लेख छ। वुल्फत्रिपलसेभेनबाट अनलाइन मार्फत सट्टाबाजी खेलाउने काम गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा सो अनलाइन साइट खोली हेर्दा अनलाइन सट्टाबाजी सम्बन्धी सामाग्रीहरू पोस्ट गरिएको,  नेपाली बैङ्कमा रकम जम्मा गर्न लगाएर साइटमा पोइन्ट राखेर जुवा खेलाउने गरेको देखिएपछि त्यसमा संलग्नहरूलाई पक्राउ गरिएको उल्लेख छ।

वुल्फत्रिपलसेभेनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रको एक अंश।

वुल्फत्रिपलसेभेनविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रको एक अंश।
‘प्रारम्भिक अनुसन्धानको क्रममा अनलाइन एपमा संलग्न भई एजेन्टको रूपमा काम गर्ने बाबा कम्युनिकेसन कम्पनीका सञ्चालक रविन प्रसाद कानू लगायतका रामु गिरी, आकाश मिश्र, प्रतीक बस्याल र दुर्गाराज श्रेष्ठ लगायतका व्यक्तिहरूको बैङ्क खाताहरू हेर्दा निजहरूले उक्त खाताहरू प्रयोग गरी करिब २ महिनाको अवधिमा २४ करोड बराबरको शङ्कास्पद कारोबार अनलाइन मार्फत गरेको देखिन आएको उल्लेख छ।

पक्राउ प्रतिवादीहरूको बयानमा वुल्फत्रिपल सेभेनका एजेन्टहरूले ह्वाट्सएपमार्फत सम्पर्क गरेर पहिला पैसा लोड गर्न नेपाली बैङ्कको क्यूआरकोड पठाउने, पछि जुवा खेल्नेहरूलाई नै बैङ्क खातामा जम्मा हुने रकमको एक प्रतिशत कमिसन दिने प्रलोभनमा पारेर बैङ्क खाता खोल्न लगाएर नेपालमा जुवा खेल्नेहरूको रकम त्यसैमा जम्मा गर्न लगाउने गरेको देखिन्छ।

उनीहरूले विभिन्न व्यक्तिहरूलाई कमिसनको लोभ देखाएर नेपालको बैङ्कमा खाता खोल्न लगाई त्यसको सबै नियन्त्रण आफैँले लिने गरेको समेत अनुसन्धानमा खुलेको थियो। अनुसन्धानमा पक्राउ परेका अभियुक्तमध्येका रामु गिरीको सानिमा बैङ्कमा रहेको खाताबाट मात्रै चार करोडको कारोबार भएको खुलेको थियो। अर्का प्रतिवादी सजल श्रेष्ठको माछापुच्छ्रे बैङ्कमा रहेको खाताबाट जुवाको तीन करोडको कारोबार भएको खुलेको थियो।

वुल्फत्रिपलसेभेनको नामबाट नेपालीलाई बैङ्कमा खाता खोल्न लगाई जुवाको रकम जम्मा गर्ने र निकाल्ने काममा भारतीय नागरिक करण र ज्याकी संलग्न रहेको खुले पनि उनीहरू को हुन् भन्ने विस्तृत विवरण खुलेन।

क्यानले एनपिएलमा वुल्फत्रिपलसेभेनन्युजलाई प्रायोजकको रूपमा प्रचार गरेपछि उकेराले यसबारे अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानमा यो कम्पनी वुल्फत्रिपलसेभेन नामक अनलाइन जुवा खेलाउने कम्पनीको सरोगेट कम्पनी रहेको खुल्यो।

उकेराकर्मी वुल्फत्रिपलसेभेनको सदस्य बनेपछि उनीहरूले जुवा खेल्ने प्रयोजनका लागि सानिमा बैङ्कमा रकम राख्न क्युआरकोड पठाएपछि रकम जम्मा गर्ने प्रयोजन वुल्फत्रिपल सेभेन उल्लेख गरेर पाँच राखेर क्यूआर ह्वाट्सएपमा पठाएपछि वुल्फत्रिपलसेभेनको खातामा पाँच सय रुपैयाँ पोइन्ट जम्मा भएको थियो।

यसबारे उकेराले प्रमाणसहित विशेष रिपोर्ट प्रकाशित गरेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो। सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले वुल्फत्रिपलसेभेनबारे सिआइबीले यस अगाडि पनि अनुसन्धान गरेको र अहिले एनपिएलबाट भइरहेको प्रचार र त्यसका नेपाली एजेन्टहरूबारे समेत अनुसन्धान भइरहेको उकेरालाई जानकारी दिए।

यो पनि:-

मंसिर २१, २०८१ शुक्रबार २०:२८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।