यु–१९ एसिया कप क्रिकेट : नेपालले दिएको लक्ष्य २६.२ ओभरमै पुरा गर्यो पाकिस्तानले
                    
                    
                    
                    काठमाडौँ : एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग सात विकेटले पराजित भएको छ।
टस हारेर ब्याटिङ पाएको नेपाल ४७.२ ओभरमा अलआउट भएर एक सय ५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएरै नेपालले दिएको लक्ष्य पुरा गर्यो।
पाकिस्तानका ब्याट्सम्यान अजान अवाइसले अविजित ५६ रन बनाएका थिए। अर्का ब्याट्सम्यान साद बेगले ५० रन बनाएका थिए।
पाकिस्तानका ओपनर ब्याट्सम्यान सामल हुसैनलाई गुलशन झाले शून्य रनमै आउट गरेका थिए। दोस्रो विकेट पनि गुल्सन झाले नै लिए। उनले सहजिब खानलाई दीपेश कँडेलद्वारा क्याच गराएका थिए।
पहिलो ब्याटिङ गरेको नेपालका उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाएका थिए। दीपेश कँडेलले ३१ रन बनाए। ओपनर अर्जुन कुमालले २१ रन बनाएका थिए। नेपालले अतिरिक्त २१ रन पाए पनि त्यो जितका लागि काफी भएन।
पाकिस्तानी टोलीका बलर मोहम्मद जिसनले नेपालको ६ विकेट लिएका थिए। उनले केवल १९ रन मात्र खर्चिए। अमिर हसनले दुई विकेट लिएका थिए। उबैद शाह र अलि असफान्दले एक-एक विकेट लिए।
युएईको दुबइस्थित आइसिसी एकेडेमी ग्राउन्डमा खेल भएको थियो। प्रतियोगिताको समूह ‘ए’ मा परेको नेपालले पाकिस्तानसँगै भारत र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
दुवै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ मा हुनेछ।
मंसिर २२, २०८० शुक्रबार १८:०९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।