विपत्तिका बेला राहत, क्षतिपूर्ति र पुनःनिर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन
पाँचथर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनः निर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
असार पहिलो साता बाढी र पहिरोले पुर्याएको क्षतिको निरीक्षणका लागि शनिबार पाँचथरको फिदिम आएका मन्त्री ज्वालाले जिल्ला प्रशासन कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा उक्त निर्देशन दिएका हुन्।
‘राहत, क्षतिपूर्ति र पुनः निर्माणको काम नियमित काम जस्तो होइन, यसमा ढिलाइ हुनु हुँदैन,’ मन्त्री ज्वालाले भने, ‘अहिले सबै स्रोतसाधनको प्रयोग गरेर तदारुकताका साथ काम गरी आधारभूत सेवाबाट बञ्चित नागरिकका लागि सरकारी निकायले काम गर्नुपर्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरकारको टोलीले स्थलगत बाढी पहिरोको क्षतिको निरीक्षण गर्न नपाएका कारण आफू सरकारको प्रतिनिधिका रुपमा आएको जनाउँदै उनले सबै मन्त्रालय मातहतका निकायलाई तदारुकताका साथ लाग्न आग्रह गरे।
असार १६, २०८० शनिबार १४:२१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।