टेलिकम चार गुणाले घटायो रोमिङ महसुल
काठमाडौं : नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको छ।
अन्तर्राष्टिय दूर सञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल घटाइएको टेलिकमले जनाएको छ।
नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ।
नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्ने छ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।
यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो।
त्यस्तै थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ। यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट एक सय ३५ रुपैयाँ लाग्ने गरेको थियो।
त्यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ। थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने छ।
त्यस्तै भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रति एमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रूपैयाँ मात्रै लाग्ने छ।
जेठ ३, २०८० बुधबार ०७:२१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।