घरको गेट बाटोतिर नखोल्न ललितपुर महानगरको निर्देशन
काठमाडौं : ललितपुर महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो घरको गेट सार्वजनिक बाटोतर्फ नखोल्न निर्देशन दिएको छ।
केही व्यक्तिहरुले आफ्नो घरको गेट सार्वजनिक बाटोतर्फ खोल्ने तथा सार्वजनिक जग्गा अतिक्रमण गर्दै बाटोको रुपमा प्रयोग गरी सर्वसाधारणलाई अवरोध सृजना गर्ने गरेको पाइएकाले महानगरले सम्बन्धित व्यक्तिहरुलाई विशेष ध्यानाकर्षण गराएको हो।
आफूले सञ्चालन गरेको सार्वजनिक जग्गा तथा सम्पति संरक्षणको अभियानका विरुद्ध केही व्यक्तिहरु आफ्नो व्यक्तिगत स्वार्थका लागि सार्वजनिक जग्गा तथा सम्पति अतिक्रमणमा लागि परेको जनाउँदै त्यसो नगर्न महानगरले निर्देशन दिएको छ।
यदि कसैले आफ्नो घरको गेट सार्वजनिक बाटो तर्फ खोल्ने गरेको छ भने सूचना प्रकाशन भएको मितिले ३५ दिन भित्र सम्बन्धित व्यक्तिहरुले आफैं सुधार गर्न पनि अनुरोध छ।
३५ दिन भित्र सम्बन्धित व्यक्तिहरुले आफै सुधार नगरेमा महानगरले कारबाही गर्ने पनि जनाएको छ।
जेठ २, २०८० मंगलबार १२:०३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।