हिमपहिरोमा बेपत्ता थप एक जनाको शव भेटियो

हिमपहिरोमा बेपत्ता थप एक जनाको शव भेटियो

काठमाडौं : दार्चुलाको ब्यास गाउँपालिका–१ स्थित भोलिङमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये थप एक जनाको शव भेटिएको छ।

ब्यासको छाङरुमा रहेका सुरक्षाकर्मीहरूको टोलीले खोजी गर्दा सोमबार दिउँसो थप एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिमपहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ बुडरकी २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको हो।

सशस्त्र प्रहरी बल नम्बर ५० गुल्म छाङरू र सीतापुल प्रहरी टोलीले उक्त शव फेला पारेको हो। यसअघि अन्य तीन जनाको शव फेला परेको थियो।

दार्चुलाको दुहु गाउँपालिका–४ पोस्सेकी कमला कुँवर, उनका छोरा प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका–२ बुडरकी नक्की डोमा थापाको शव यसअघि नै फेला परेको प्रहरीले जनाएको छ।

हिमपहिरोमा परेर बेपत्ता भएकी जोरायल गाउँपालिका–२ बुडरीकी १५ वर्षीया छिमी सामो थापाको अवस्था भने अझै अज्ञात रहेको छ।

वैशाख २५, २०८० सोमबार १८:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।