चितवनका जनताले अब रविलाई जिताउँदैनन् : महेश बस्नेत

चितवनका जनताले अब रविलाई जिताउँदैनन् : महेश बस्नेत

काठमाडौं : एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अबको उपनिर्वाचनमा पराजित हुने बताएका छन्।

शनिबार काठमाडौंमा रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै उनले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनमा रवि हार्ने तथा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने बताए।

‘चितवन २ का जनता नक्कली राष्ट्रवाद, अवसरवादी चरित्र र पब्लिक कन्जम्सनका लागि गरिने कुराबाट मुक्त भइसके। त्यहाँ अब नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुन्छ। अब चितवनका जनताले रविलाई जिताउँदैनन्,’ उनले भने।

उनले लामिछानेले मयूरको प्वाँख लगाएर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो बुझिसकेको बताए।

उनले भने, ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो। यो कुरा भन्न हामी हिच्किचाउनु हुन्न। चितवनका जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन्।’

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट रविसँगै एमालेबाट रामप्रसाद न्यौपाने र कांग्रेसबाट जितनारायण श्रेष्ठ लगायत २६ जनाको उम्मेदवारी परेको छ।

वैशाख २, २०८० शनिबार १७:३५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।