नयाँ वर्षका अवसरमा पशुपतिनाथमा भक्तजनको भिड

नयाँ वर्षका अवसरमा पशुपतिनाथमा भक्तजनको भिड

काठमाडौं : नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ।

विगत एक दशक अघिदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनको भिड हुन थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

भक्तजनलाई सहज होस् भनेर आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मूल मन्दिरका चार ढोका खुला गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए।

साउनको सोमबार, तीज र महाशिवरात्रिकै झल्को दिने गरी भक्तजन बिहानैदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका छन्। भक्तजनलाई प्रहरी पहरा गण, सशस्त्र प्रहरी बल र प्रहरी कार्यालय गौशालाको टोलीले सुरक्षा दिएको छ।

नयाँ वर्षका अवसरमा पशुपतिनाथसँगै राजधानीका गोकर्णेश्वर, गोठाटारस्थित नवतनधाम, वसन्तपुरस्थित सानो पशुपतिनाथलगायत मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भिड लागेको छ।

वैशाख १, २०८० शुक्रबार १२:१३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।