६ जनाको ज्यान गएको बैतडी जिप दुर्घटनाका फरार चालक पक्राउ

६ जनाको ज्यान गएको बैतडी जिप दुर्घटनाका फरार चालक पक्राउ

बैतडी : मंगलबार राति बैतडीमा भएको जिप दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

खोडपे-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका-८ झौलेक मोडमा मंगलबार राति से१ज ७६४ नंको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। 

दुर्घटना लगत्तै फरार रहेका बझाङको केदारस्युँका २७ वर्षीय चालक अर्जुन बोहरालाई प्रहरीले ढोल्यामोडबाट पक्राउ गरेको हो। प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार चालक बोहरामाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ।

दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो।

जिपमा सवार अन्य पाँच जनाले हाम फालेर ज्यान जोगाएका थिए। दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्तले बुधबार आन्दोलन गरेका थिए।

चैत ३०, २०७९ बिहीबार १०:५८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।