समिट प्रकरणमा छानविन गर्न समिति, एक करोडको राहत कोष
ललितपुर : समिट अपार्टमेन्ट घटनाबारे छानबिन गर्न ललितपुर महानगरपालिकाले उप-मेयरको संयोजकत्वमा समिति गठन गरेको छ।
बखुन्डोलमा अपार्टमेन्ट र होटल बनाउने क्रममा वरिपरीको जग्गा भासिएपछि महानगरले छानबिन गर्न उपमेयर मन्जिला शाक्य बज्राचार्यको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिमा सम्बन्धित वडाका दुई वडाध्यक्ष, पीडिततर्फबाट तीन जना, समिटका प्रतिनिधि, महानगरका इन्जिनियर र प्रवक्ता छन्।
समितिलाई क्षतिको विवरण संकलन, क्षतिपूर्ति विरतण र निर्माण कम्पनीलाई कारबाहीको सिफारिसको म्याण्डेट दिइएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए।
एक करोडको आकस्मिक कोष
अपार्टमेन्ट निर्माण गर्ने कम्पनी, ललितपुर महानगरका प्रतिनिधि र पीडितबीचको त्रिपक्षीय बैठकले कोष बनाउने निर्णय समेत गरेको छ।
कोषमा तत्काल एक करोड राखेर आवश्यकता अनुसार राहत दिने सहमति भएको महर्जनले जानकारी दिए।
बैठकमा चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरी, एनई ग्रुपका प्रमुख रविभक्त श्रेष्ठ, सञ्जय मानन्धरसहित चार जनाले प्रभावितको तत्काल बसोबासको प्रबन्ध, भासिएको ग्रीनविच होटलका कामदारको खाना र बासको प्रबन्ध, चर्किएको र भत्किएको घरको मर्मत र बनाउने जिम्मा सम्बन्धित कम्पनीको हुने सहमति भएको थियो।
अहिले तत्काल एक करोडको कोष बनाउने पछि आवश्यकता अनुसार थप्ने सहमति भएको महर्जनले जानकारी दिए।
करिब छ अर्बको लगानीमा अपार्टमेन्टसहितको होटल बनाउने क्रममा जग खन्दा समिट होटल वरपर क्षेत्रको जग्गा भासिएको थियो।
अपार्टमेन्ट र होटलको नक्सा पाससमेत नगरेको र वातावरण प्रभाव सम्बन्धी अध्ययन समेत नगराएको देखिएपछि तत्काल निर्माणको काम समेत रोक्न निर्देशन दिइएको महर्जनले उकेरालाई जानकारी दिए।
चैत २७, २०७९ सोमबार १०:०८:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।