तीव्र गतिको ट्रकले सडकको बारै भत्काएर ठक्कर दिंदा मोटरसाइकल चालकको ज्यानै गयो
उदयपुर : तीव्र गतिको गुडेको ट्रकले सडकको बारै भत्काएर ठक्कर दिंदा आज बिहान गाईघाट बजारको मुख्य चोकमा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाट बजारको मुख्य चोकमा तीव्र गतिमा रहेको मे१ख २१८४ नंको ट्रकले ठक्कर दिएको थियो।
ट्रक तीव्र गतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
ट्रक चालक झापा जिल्ला कन्काइ सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
चैत २६, २०७९ आइतबार १०:४५:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।