भासिएको समिट अपार्टमेन्टको वातावरण मुल्याङ्कन शंकामा, यी हुन् लगानीकर्ता

भासिएको समिट अपार्टमेन्टको वातावरण मुल्याङ्कन शंकामा, यी हुन् लगानीकर्ता

काठमाडौं : २०७८ भदौमा वातावरणीय प्रभाव मुल्याङ्कनको लागि स्थानीयवासीसँग सुझाव मागेको ललितपुर बखुन्डोलमा निर्माण भइरहेको होटलसहितको समिट अपार्टमेन्टको वरिपरिका घर शनिबार भासियो।

‘द समिट होटल एण्ड रेसिडेन्स’ नाम दिइएको उक्त परियोजनाका लागि वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारीको लागि क्षेत्र निर्धारण गर्न सात दिनभित्र राय सुझाव दिन अनुरोध गरिएको थियो।

सूचनामा क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक र आर्थिक प्रणालीको के कस्तो प्रभाव पर्दछ भन्ने सुझाव मागिएको थियो।

वातावरणीय मुल्याङ्कनपछि करिब ६ अर्बको लगानीमा अपार्टमेन्ट बनाउने क्रम शुरू हुँदा नै वरपरका भाग भासियो।

के थियो योजना?
होटल समिट रहेकै क्षेत्रको १८ रोपनी क्षेत्रमा एक सय २९ वटा कोठा र ४८ वटा अपार्टमेन्ट हुनेगरि निर्माण योजना अगाडि बढेको थियो।

लगानीकर्ताहरूले सो अन्तर्राष्ट्रिय स्तरको अपार्टमेन्टसँगै पाँचतारे होटल बनाउने र त्यो ‘ब्रान्डेड रेजिडेन्सी’ हुने दाबी गरेका थिए।

सेन्ट रेगिज ब्रान्डबाट लक्जरी होटल सञ्चालन गर्ने तयारीसँगै निर्माण कम्पनीले ११ तलासम्मको प्रि-बुकिङ खुल्ला गर्दा सबै बिकेको दाबी गरेको थियो।

को-को हुन् लगानीकर्ता?
समिट रेसिडेन्सीमा एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठ, चौधरी समूहका विनोद चौधरी र अमृतरत्न शाक्यको संयुक्त लगानी रहेको बताइएको थियो।

कति लगानी हुने खुलाइएको थिएन। लगानी पाँचदेखि छ अर्ब हुने अनुमान सार्वजनिक भएको थियो।

चैत २५, २०७९ शनिबार २०:०४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।