नागढुंगा नाकामा गाडीको ‘अटोमेटिक डिटेक्सन सिस्टम’ जडान गरिने
काठमाडौं : उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुंगा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाइने भएको छ।
बिहीबार उपत्यका मेयर्स फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै यो निर्णय गरेको हो। यसका लागि करिब दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ।
बैठकले ललितपुर उपमहानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई फोरमको अध्यक्षमा चयन समेत गरेको छ।
काठमाडौं उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुखहरू रहेका यस फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकका प्रमुख वासुदेव थापा छानिएका हुन्।
त्यसैगरी चन्द्रागिरिका प्रमुख घनश्याम गिरी महासचिव, टोखाका मेयर प्रकाश अधिकारी सचिव, तारकेश्वरका मेयर कृष्णहरि महर्जन कोषाध्यक्ष र मध्यपुर थिमीका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ सहसचिव चयन भएका छन्।
फोरमको सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन्।
चैत २४, २०७९ शुक्रबार १२:३७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।