जन्म दर्तामा आमालाई छाडेर मामा स्विकार्ने गृहको पत्रको आलोचना

जन्म दर्तामा आमालाई छाडेर मामा स्विकार्ने गृहको पत्रको आलोचना

काठमाडौँ : गृह मन्त्रालयको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले आमाको सट्टा मामाको थर राखेर जन्म दर्ता गराउन स्थानीय तहलाई गरेको पत्राचारको आलोचना भएको छ।

बाबुको पहिचान नखुलेको एकल महिलाले विवाह गरी बाबुकै ठेगाना बसेको भए मावलीको थर राखेर आमा रहेकै ठेगाना उल्लेख गरेर जन्म दर्ता गर्न भनिएको छ।

निर्देशन नवराज जैसीको हस्ताक्षर रहेको पत्रमा विवाह अघि जन्म भएको तर पितृको ठेगाना नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर बच्चा मावलीमा भए मावलीकै थर र ठेगाना खुलाएर जन्म दर्ता गर्न भनिएको छ।

जन्म दर्ता भइसकेपछि बाबुको ठेगाना खुलेमा पुरानो दर्ता खारेज गरेर नयाँ दर्ता गर्न भनिएको छ।

सो पत्र सार्वजनिक भएसँगै' आमालाई नपत्याउने राज्यले मामालाई पत्यायो' भन्दै आलोचना भएको छ। आमाको नाममा जन्म दर्तासँगै नागरिकता पाउने कानुनी प्रावधानको माग गर्दै लामो समयदेखि दबाब बढाइए पनि राज्यका निकाय सहमत भएका छैनन्।

उल्टो अब आमाको सट्टा मावलीतिर लगेर जन्म दर्ता जोड्दा थप आलोचना बढाएको छ। चैत २२ को मितिको पत्र सबै स्थानीय पञ्जिकाधिकारीसँगै जिल्ला प्रशासन कार्यालय र  इलाका प्रशासन कार्यालयलाई बोधार्थ गरिएको छ। 

चैत २३, २०७९ बिहीबार १६:२७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।