सगरमाथा चढ्न हिंडे अफगानिस्तानको लडाइमा दुवै खुट्टा गुमाएका हरि बुढामगर
काठमाडौं : अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर सगरमाथा आरोहणका लागि निस्किएका छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न उनी आज (बुधबार) बिहान त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन्।
कृतिम खुट्टाको सहायताले हिँडडुल गर्ने उनको घुँडाभन्दा तलका युद्धले खाइदियो। पूर्व गोरखा सैनिक बुढामगरले सन् २०१० मा अफगानिस्तानको लडाइमा आफ्ना दुवै खुट्टा गुमाएका थिए।
रोल्पामा जन्मिएका ४४ वर्षीय बुढामगरले शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु पनि कमजोर हुँदैनन् भन्ने सन्देश दिन सगरमाथा चढ्न लागेको बताए।
पाँच वर्षको प्रयासपछि उनले सगरमाथा चढ्ने अनुमति पाएका हुन्। यसअघि उनले सगरमाथाको आधार शिविरबाट स्काइडाइभिङ पनि गरिसकेका छन्।
दुवै खुट्टा नभएर कृतिम खुट्टाको सहयोगमा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने उनी पहिलो व्यक्ति हुन्।
चैत २२, २०७९ बुधबार ११:०७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।