रातोपुलबाट हराएको स्कुटर तीन महिनापछि भक्तपुरमा भेटियो, चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रातोपुलबाट हराएको स्कुटर तीन महिनापछि भक्तपुरमा भेटियो, चोरीमा संलग्न तीन जना नियन्त्रणमा

काठमाडौं : चोरीको स्कुटरसहित भक्तपुरको सुर्यविनायक नगरपालिका-६ पाण्डुबजारबाट ट्राफिक प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएकाहरूमा काभ्रे घर भई भक्तपुर बस्दै आएका १९ वर्षीय संजिव लामा, २३ वर्षीय नुर्भु लामा र २३ वर्षीय कृष्ण तामाङ रहेका छन्।

गत पुष १७ गते काठमाडौंको रातोपुलबाट हराएको बा ५४ प ९३३९ नम्बरको स्कुटर संजिवले पाण्डुबजार वास्तविक नम्बर प्लेटमै चलाएको पाइएपछि उनी पक्राउ परेका हुन्।

सोधपुछको क्रममा उनले अन्य दुई जनाको संलग्नता रहेको समेत खुलाएपछि नुर्भु र कृष्णलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागी प्रहरी वृत्त गौशाला पठाइएको छ।

चोरी भएको स्कुटर उदयपुरको चौदण्डीगढी नगरपालिका-१० घर भई हाल काठमाडौंको बानेश्वर बस्ने धनबहादुर राउतको हो।

उनले काठमाडौंको रातोपुलबाट स्कुटर हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

चैत २१, २०७९ मंगलबार १५:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।