पूर्वमन्त्रीको आपत्तिजनक अभिव्यक्ति ‘तेस्रो लिङ्गी र अपाङ्गता भएका सन्तानका आमाले गर्भपतन गराउनुपर्छ, जन्मन दिनु हुन्न ’

पूर्वमन्त्रीको आपत्तिजनक अभिव्यक्ति ‘तेस्रो लिङ्गी र अपाङ्गता भएका सन्तानका आमाले गर्भपतन गराउनुपर्छ, जन्मन दिनु हुन्न ’

काठमाडौं : पूर्व स्वास्थ्यमन्त्री ईन्द्रजित थारुले महिलाहरूले गर्भमा चेकजाँच गरी तेस्रो लिङ्गी र अपाङ्गता भएका सन्तानहरूलाई गर्भपतन गराउनुपर्ने अराजक अभिव्यक्ति दिएका छन्।

गत बिहीबार एसिया फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा थारुले अपाङ्गता भएका तथा तेस्रो लिङ्गी जन्मिनै नहुने आपत्तिजनक र अराजक अभिव्यक्ति दिएका हुन्।

उनले भने, ‘तेस्रो लिङ्गीहरू र अपाङ्गता भएका सन्तानहरूको आमाको गर्भमा चेकजाँच गरी गर्भपतन गराउनुपर्छ, ताकी भोलि यो समुदायको संख्या बढ्न नपाओस् नत्र यो समाज र देशको उन्नतिमा तगारो लाग्नेछ।’

संविधान सभा सदस्य, मानव अधिकारकर्मी, सरोकारवालासँगै  पत्रकारहरू भेला भएको सार्वजनिक कार्यक्रममा पुर्वमन्त्रीले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनको यो अभिव्यक्तिपछि अर्का संविधान सभा सदस्य सुनिलबाबु पन्तले आपत्ती जनाएका छन्।

‘यो कुनै हालतमा अस्वीकार्य मात्रै हैन, सार्वजनिक स्थल दिइएको डरलाग्दो अभिव्यक्ति पनि हो,’ पन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका हामीले कसरी सुरक्षित अनुभुति गर्नसक्छौँ, जहाँ संविधान सभा सदस्यले यस्तो अभिव्यक्ति दिन्छ।’

पन्तले कार्यक्रमको आयोजक एसिया फाउन्डेसनले यसको स्पष्टिकरण दिनुपर्ने समेत माग गरेका छन्।

चैत १८, २०७९ शनिबार १४:२४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।