देशको जनसंख्याको वृद्धि सन्तुलित भएन : प्रचण्ड

देशको जनसंख्याको वृद्धि सन्तुलित भएन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जनसंख्याको वृद्धि सन्तुलित नभएको पाइएको बताएका छन्।

आज राष्ट्रिय जनगणना–२०७८ को प्रतिवेदन सार्वजनिक गर्दै उनले समग्रमा जनगणनाबाट प्राप्त नतिजा हेर्दा कम उमेरका व्यक्तिको संख्या क्रमशः घटेको र बढी उमेरका व्यक्तिको संख्या क्रमशः बढेको देखिएको बताए।

 यसै कारणले जनसंख्याको वृद्धि सन्तुलित नभएको उनको भनाइ छ।

साथै उनले विशेषगरी हिमाली र पहाडी तथा ग्रामीण क्षेत्रमा जनसंख्या वृद्धिदर द्रुतरुपमा घट्ने क्रममा र तराई तथा सहरी क्षेत्रमा यो दर बढ्ने क्रममा देखिएको उल्लेख गरे।

‘वि.सं २०६८ को जनगणनाको तुलनामा परिवारमा अनुपस्थित रही विदेशमा बस्ने व्यक्तिको संख्या बढेको र त्यसमध्ये पनि महिलाको अनुपात बढेको देखिएको छ,’ उनले भने,  ‘हाल स्पष्टरुपमा देखिएको जनसाङ्ख्यिक परिवर्तन बमोजिमका जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम सञ्चालन गर्न जनगणनाबाट प्राप्त तथ्याङ्कबाट सहयोग पुग्ने विश्वास लिएको छु।’

साथै प्रचण्डले जनगणनाका धेरैजसो सूचकमा ग्रामीण र सहरी क्षेत्रकाबीच असमानता देखिएको र यसलाई सम्बोधन गरी नेपालमा विद्यमान असन्तुलित बसाइँसराइलाई व्यवस्थित गर्नुपर्ने देखिएको बताए।

चैत १०, २०७९ शुक्रबार १३:३३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।