गाउँपालिका अध्यक्षले ९१ लाख भ्रष्टाचार गरेको दाबीसहित पर्यो मुद्दा

गाउँपालिका अध्यक्षले ९१ लाख भ्रष्टाचार गरेको दाबीसहित पर्यो मुद्दा

काठमाडौँ : ९१ लाख ८६ हजार सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दै मर्चवारी गाउँपालिका, रुपन्देहीका पूर्व अध्यक्ष केशवनन्द बनियाँविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। २०७४ असार १४ मा पालिका अध्यक्षमा निर्वाचित बनियाँ २०७९ वैशाख ९ सम्म सोही पदमा कार्यरत थिए।

२०७४ असार २१ देखि २०७८ फागुन ३० गतेसम्मको उनको सम्पत्तिको जाँचबुझ गर्दा उनले ८४ लाख १९ हजार आम्दानी गरेको देखियो। यही अवधिमा उनको खर्च अनि लगानी १ करोड ७५ लाख देखियो।

आम्दानीमा पारिश्रमिक, बैठक भत्ता, ट्याक्टर तथा हार्वेस्टर बिक्री, छोराको नाममा रहेको घर गाउँपालिकालाई भाडामा दिए बापत प्राप्त रकम, राइस मिलको आय देखियो।

खर्चमा छोराहरूको अध्ययन, घर निर्माण, छोराको नाममा जग्गा, मोटरसाइकल, ट्याक्टर खरिद, परिवारको नाममा रहेको मौज्दात समेत समावेश गर्दा ९१ लाख ८६ हजारको स्रोत नखुलेको अख्तियारको दाबी छ।

बनियाँ र उनको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनयापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमको जग्गा लगायतका चलअचल सम्पत्ति आफ्नो र छोराहरूको नाममा जोडेको देखिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा २० को उपदफा २ बमोजिम सजायका साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग दाबी गरेको छ।

अभियोग पत्रमा बनियाँका छोरा पङ्कज कान्दुको नाममा खरिद गरिएको जग्गा, घर, सवारी साधन अनि बैङ्कहरूमा रहेको रकम मौज्दातमध्ये स्रोत नखुलेको सम्पत्ति जफत गर्न माग गरिएको छ।

चैत ९, २०७९ बिहीबार २०:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।