उपत्यकामा ८ महिनामा मात्रै पाँच लाख बढी सवारीसाधन कारबाहीमा
काठमाडौं : चालु आर्थिक वर्षको आठ महिनामा काठमाडौं उपत्यकामा पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस अवधिमा ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा उक्त सवारीसाधनलाई कारबाही गरेको हो।
कार्यालयका अनुसार सबैभन्दा बढी पार्किङ निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार चार सय ७२ सवारीसाधन कारबाहीमा परेका छन्।
यस्तै बढी भाडा लिने दुई हजार एक सय ९०, सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार तीन सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार पाँच सय नौ, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार आठ सय ९६ सवारी कारबाहीमा परेका हुन्।
यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने दुई हजार ४५, रेड लाइटमा पनि सवारी चलाउने १६ हजार नौ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार दुई सय ५९, लेन अनुशासन उल्लंघन गर्ने १९ हजार आठ सय १७ सवारी कारबाहीमा परेका छन्।
वानवेमा सवारी चलाउने २१ हजार एक सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार आठ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार दुई सय ४७ सवारीलाई पनि कारबाही गरिएको बताइएको छ।
कारबाहीमा पर्नेमा पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार नौ सय ८१, लापरबाही साथ सवारी चलाउने ७२ हजार एक सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार छ सय ६५ रहेका छन्।
त्यस्तै जथाभाबी हर्न बजाउने १२ हजार छ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार दुई सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार सात सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्।
चैत ७, २०७९ मंगलबार ११:०९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।