नेपालबाट अमेरिकामा २८ करोड ठगीको आरोपी शाह समूहका ६ जना थुनामा गए

नेपालबाट अमेरिकामा २८ करोड ठगीको आरोपी शाह समूहका ६ जना थुनामा गए

काठमाडौँ : अमेरिकी लगायतका देशका नागरिकहरूलाई विभिन्न बहानामा करोडौं ठगी गरेको अभियोग लागेको पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा पुगेका छन्।

ठगी, सार्वजनिक लिखत किर्ते र सङ्गठित अपराधको कसुरमा जिल्ला अदालत, काठमाडौंले पक्राउ परेका सात जनामध्ये शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

भक्तपुरकी २४ वर्षीया विनीता तामाङलाई अदालतले ५० हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।

पृथ्वी, उनका भाइ विजयविक्रम शाह, सहयोगी अनुप खड्का, चक्र बहादुर खत्री, रुक्मांगदलाई काफ्ले र रंगबहादुर साउद पुर्पक्षका लागि कारागार चलान भएका छन्। यो ठगीमा जोडिएका १३ जना अझै फरार छन्।

अछामका देवेन्द्र ढुङ्गाना, रामेछापका सागर आले मगर, कैलालीका लक्ष्मण रेग्मी, रामेछापका विनोद सुन्दर, काठमाडौँ सानु ठकुरी, अविन परियार, राजकुमार ठकुरी, सन्तोष पाण्डे, अञ्जना रजक भण्डारी, किशोर सिंह, तरुण शाह, शिवकुमार पाण्डे र देवेन्द्र बहादुर शाह फरार सूचीमा छन्।

उनीहरूमाथि अनलाइनमार्फत अमेरिकाका वृद्ध व्यक्तिहरूको रकम ठगेको अभियोग लागेको छ। उनले ठगीको रकम ट्राभल्स लगायतको बहानामा नेपाल ल्याउने गरेका थिए।

नेपालमा रहेको अमेरिकी दूतावासमार्फत उनीहरुविरुद्ध २४ वटा उजुरी आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो।

सिआइबीको अनुसन्धानमा शाहको समूहले ठगीका लागि २४ वटा कम्पनी दर्ता गरेको खुलेको थियो। एन्टी भाइरस अपडेट, अमेजनको बिल भुक्तानीलगायतका विभिन्न बहानामा अमेरिकी नागरिकहरूसँग सम्पर्क गरेर उनीहरूको बैङ्कमा रहेको रकम ट्रान्सफर गर्ने गरेका थिए।

पीडितको उजुरीको आधारमा उनीहरूले २८ लाख ९२ हजार अमेरिकी डलर ठगेको देखिएको छ। उनीहरूले नेपालमा ३८ करोड ८६ लाख ल्याएको समेत खुलेको थियो।

शाहले नेपाल भित्र्याउने प्रयास गरेको पैसा रोकेको भन्दै तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीबीच विवाद बढ्दा सरकारले अधिकारीलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाएको थियो। पछि अदालतबाट उनी आफ्नो पदमा फर्किएका थिए। 

फागुन ३०, २०७९ मंगलबार २२:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।