टिकटकमा बनेका साथीसँग बिहे गरी इंल्याण्ड लैजान्छु भन्दै १५ लाख ठगेपछि प्रहरीको फन्दामा
काठमाडौं : सामाजिक संजाल टिकटकमा साथी बनाइ अनलाईनमार्फत १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ।
अञ्जलीले पीडितलाई टिकटकमार्फत साथी बनाइ आफूलाई इंल्याण्डको नागरिक भएको बताउँदै नेपाल आएपछि विवाह गरी उनलाई पनि इंल्याण्ड लैजाने प्रलोभन देखाएको थिइन्।
साथै उनले जुत्ता, ब्याग, आइफोन, सुनका गरगहनाहरू र ७० हजार अमेरिकी डलर समेतको गिफ्ट पठाई दिने भन्दै यसका लागि कुरियरले सम्पर्क गर्छ भनेर फोटो भिडियो समेत पठाएर पीडितलाई विश्वास दिलाएका थिइन्।
यसका लागि उनले कुरियर कार्यालयबाट पार्सल पाउनको लागि डेलिभरी चार्ज, भन्सार शुल्क, इन्सोरेन्स चार्ज, क्लियरेन्स चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विभिन्न व्यक्तिको नाममा रहेको बैंक खातामा पटक-पटक गरी उक्त रकम पठाउन लगाई ठगी गरेको उजुरीमा उल्लेख छ।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले अञ्जलीलाई पक्राउ गरेको हो।
उनीलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ।
फागुन ३०, २०७९ मंगलबार ०९:४३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।