संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने व्यवस्था छैन भनेपछि यादवको उम्मेदवारी कायमै

संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने व्यवस्था छैन भनेपछि यादवको उम्मेदवारी कायमै

काठमाडौं : जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवारी दिएका रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ।

आइतबार निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी बदर नहुने निर्णय गरेको सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले जानकारी गराइन्।

पुरूष उम्मेदवार राष्ट्रपति बनेका कारण उपराष्ट्रपतिमा भने महिला उम्मेदवार हुनुपर्ने भन्दै एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उनीविरुद्ध उजुरी दिएका थिए।

यसपछि आइतबार यादवले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीको स्पष्टीकरण बुझाएका थिए।

स्पष्टीकरणमा उनले नेपालको संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंगको हुनुपर्ने व्यवस्था नरहेको उल्लेख गरेका थिए। 

उनको स्पष्टीकरणमा लेखिएको छ, ‘नेपालको संविधानको धारा ९१ (२) मा उपदफा १ बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनु पर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनुपर्नेछ। सो धारामा महिलाको अनिवार्य गरेको देखिन्छ। तर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको सम्बन्धमा रहेको संवैधानिक र निर्वाचन सम्बन्धित ऐन २०७४ मा त्यस्तो अनिवार्य व्यवस्था छैन।’

फागुन २८, २०७९ आइतबार १२:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।