ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु
काठमाडौं : ओखलढुंगाबाट आज बिहान काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ।
बस ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं आउँदै गर्दा मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-४ स्थित कुइभीर डाँडामा दुर्घटना भएको हो।
सिन्धुली प्रहरीका प्रवक्ता चिरञ्जीवी दाहालका अनुसार बा २ ख ६५९६ नम्बरको बस कुइभीरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।
बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
दुर्घटनामा परेर अन्य १९ जना घाइते भएका र उनीहरूलाई खुर्कोटस्थित अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।
बसमा करिब ३० जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटना बारे थप विवरण आउन बाँकी छ।
फागुन २८, २०७९ आइतबार ११:१७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।